क्यानडा बसेर मधेशको संगीतलाई विश्वमञ्चमा पुर्‍याउँदै वीरेन्द्र केशरी

  • असोज २७, २०८२ | ४८९ पटक पढिएको | सीमा संदेश
alt

क्यानडाको टोरन्टो नजिकै बस्छन्- संगीत निर्माता वीरेन्द्र केशरी। यस्तो लाग्छ, उनको मुटु भने अझै मधेशकै लागि धड्किन्छ।

क्यानडाको व्यस्त पेसागत दिनचर्याका बीच पनि उनी अहिले मधेशका प्रतिभाशाली गायक तथा र्‍यापरहरूलाई विश्वसामु पुर्‍याउने अभियानमा जुटेका छन् । आफ्नो कर्मले उनले डिजिटल युगमा नयाँ परिचय पनि बनाएका छन्- ‘मधेशी बिट्स’।

बीरेन्द्रले विदेशी भूमिबाट पनि मातृभूमिको संगीतलाई विश्वमञ्चमा पुर्‍याउने ध्येय बोकेका छन्। उनी विशेषगरी मधेशी हिपहप र लोकसंगीतलाई विश्वस्तरमा चिनाउन केन्द्रित छन्।

‘ढाका धोती’ ले बदलेको जीवनको दिशा

सामान्य चलिरहेको थियो जीवन । तर, सधै यस्तो रहेन । संगीततर्फ उनलाई प्रेरित गर्ने निर्णायक मोड बन्यो- व्योमा र डी-१ को चर्चित गीत ‘ढाका धोती’ ।

संस्कृति र एकताको गहिरो सन्देश बोकेको यस गीतले उनलाई संगीतलाई अझ गम्भीरतापूर्वक लिन र मधेशी संगीतको पहिचानलाई विश्वसामू चिनाउन प्रेरित गर्‍यो।

त्यसपछि उनले आफ्ना बीट्स डी-१ सँग बाँडे र ‘व्योमा एक’ नामक भर्चुअल परियोजनामा जुटे । यसले त्यतिबेलाको राजनीतिक सन्देशलाई संगीतमार्फत जनतामा पुर्‍यायो।

भर्चुअल संसारबाट भूमिको धुन

त्यसयता उनले व्योमा, शब्दजाल, नवाज, डोङ, रेक्सलगायतका थुप्रै नेपाली हिपहप कलाकारहरूसँग सहकार्य गरे । यी सबै सहकार्य भर्चुअल माध्यममै भए।

‘मैले धेरै कलाकारलाई व्यक्तिगत रूपमा भेटेको छैन,’ बीरेन्द्र हाँस्दै भन्छन्, ‘तर टोरन्टोमा नवाज अन्सारीलाई एक कन्सर्टमा भेट्दा निकै खुसी भयो।’

बीरेन्द्रको बुझाइमा, मधेशमा धेरै प्रतिभाशाली र्‍यापरहरू छन्, तर गुणस्तरीय बीट्स, स्रोत र पहुँचको कमीले उनीहरू संसारभरि छरिएका श्रोतासम्म पुग्न सकेका छैनन् । यही कारण उनले ‘मधेशीबिट्स रेकर्डस’ स्थापना गरी ‘मधेशी बिट्स’ युट्युब, टिकटक, इन्स्टाग्राम, स्पटिफाइ जस्ता प्लेटफर्ममार्फत नयाँ–नयाँ सहकार्यहरू सार्वजनिक गर्दै आएका छन्।

उनको दृष्टिमा संघर्ष र पहिचान अभिव्यक्त गर्ने प्रभावकारी माध्यम हो- र्‍याप। मधेशी र्‍यापरहरूले आफ्ना संस्कार, अनुभव र समुदायका कथाहरू र्‍यापमार्फत प्रस्तुत गर्छन्, कहिलेकाहीँ अन्याय र असमानताविरुद्ध आवाज उठाउँछन्। यसले मधेशी युवाहरूको आत्मविश्वास र गर्वलाई झल्काउँछ।

तर, चुनौती अझै कायम छ। ‘डिजिटल युगले धेरै कुरा सजिलो बनाएको छ। तर मुख्यधारको संगीत क्षेत्रमा प्रवेश गर्न अझै स्रोत, प्रचार र सम्बन्धहरूको कमी देखिन्छ’ उनले भने, ‘ऐतिहासिक रूपमा गुणस्तरीय मधेशी संगीत कम उत्पादन भएकाले पनि यो कठिन भएको छ। तर अहिले नयाँ पुस्ताका कलाकारहरूले यो धारणा तोड्दैछन् ।’

‘छुटकारा’ भाइरल, ‘जन चेतना’ ले तोड्यो रेकर्ड

डीके सागर (धनवीर यादव) र कालकवि

हालै मात्र मधेशी बिट्स युट्युबबाट सार्वजनिक गरिएको गीत ‘छुटकारा’ टिकटकमा भाइरल भयो। जनकपुरका डीके सागर (धनवीर यादव) र उनका काका-भाइ कालकविले गएको उक्त गीत युट्युबमा १० लाख बढीले हेरेका छन् भने ४४ हजार बढी रील्स बने र इन्स्टाग्राममा जनकपुर क्षेत्रमा ट्रेन्डिङमा रह्यो।

यसैगरी, डीके सागरकै अर्को गीत ‘जन चेतना’ ले युट्युबमा करिब ५० लाख भ्यूज पाइसकेको छ र टिकटकमा भाइरल गएको छ। यी दुवै गीत हरूमासंगीत बीरेन्द्र केशरीले दिएका हुन्।

चर्चित भारतीय र्‍यापर यो योहनी सिंहले समेत डी के सागरलाई फलो गरेका छन् भने भारतीय संगीत निर्माता फेनोमले इन्स्टाग्राममा टिप्पणी गरेका छन्।

यसको सफलतापछि डी के सागरले थुप्रै राष्ट्रिय र अन्तर्राष्ट्रिय शो तथा कन्सर्टहरूको अफर पाउन थालेका छन्।

यी उपलब्धिहरूले बीरेन्द्रलाई अझै प्रेरित बनाएको छ। ‘यस्ता सफलताले हामीलाई अझै उत्कृष्ट परियोजनामा काम गर्न हौसला दिन्छ। हाम्रो मेहनतलाई मान्यता मिलिरहेकोमा निकै गर्व लाग्छ’, उनले भने।

विश्वमञ्चमा मधेशी हिपहपको सपना

बीरेन्द्रको सुदूर सपना भनेको मधेशी हिपहपलाई पञ्जाबी हिपहप झैँ विश्वव्यापी बनाउने हो । ‘मधेशमा प्रतिभाको कमी छैन। तर स्रोत रलगानी चाहिन्छ। म आफ्ना अनुभव र सीप प्रयोग गरेर मधेशी कलाकारहरूसँग सहकार्य गर्दै उनीहरूलाई नयाँ उचाइमा पुर्‍याउन चाहन्छु’, उनले भने।

धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयबाट आईएस्सी गरेका बीरेन्द्रले सोही विश्वविद्यालयबाटै ब्याचलर इन कम्प्युटर इन्जिनियरिङ पूरा गरे। सन् २००८ मा वेस्टर्न युनिभर्सिटी, लन्डन, ओन्टारियो, क्यानडाबाट मास्टर्स इन कम्प्युटर साइन्स पूरा गरे।

बीरेन्द्र केशरीको यात्राले देखाउँछ— विदेशमा बसेर पनि आफ्नै संस्कृतिको जरा नबिर्सी नयाँ पुस्तालाई अवसर दिलाउन सकिन्छ। उनको मधेशी बिट्स अभियान आज मधेशको संगीतलाई विश्वव्यापी श्रोतासम्म पुर्‍याउने पुल बन्दै गएको छ ।

सुनसरी घटनाको असर : धनगढीमाई र गोलबजारमा पूर्वपश्च

सिरहा । सिरहाको धनगढीमाई र गोलबजार स्थित पूर्व पश्चिम र ...

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब