दिल्लीमा कार विस्फोट, कम्तीमा १३ को मृत्यु

  • कार्तिक २५, २०८२ | ३५२ पटक पढिएको | सीमा संदेश
alt

भारतको राजधानी नयाँदिल्लीको व्यस्त क्षेत्र लालकिल्लास्थित मेट्रो स्टेसननजिकै सोमबार साँझ भएको कार विस्फोटमा कम्तीमा १३ जनाको मृत्यु भएको छ । हुन्डाईको आई २० कार विस्फोट घटनाबारे भारतीय सुरक्षा निकायले अनुसन्धान गरिरहेका छन् । मृतक केहीको सनाखत भएको छ । 

घटनाबारे दिल्ली क्राइम ब्रान्च, स्पेसल ब्रान्च, फोेरेन्सिक साइन्स ल्याब (एफएसएल), नेसनल इन्भेस्टिगेसन एजेन्सी (एनआइए)लगायत एजेन्सीहरूले अनुसन्धान थालेका छन् । दिल्ली पुलिसका आयुक्त सतिश गोल्छाले घटनाबारे भारतीय गृहमन्त्री अमित शाहलाई ब्रिफिङ गरेका छन् । तर, विस्फोट आंतकवादी हमला भए–नभएको भारतीय सरकारले घोषणा गरेको छैन । 

लालकिल्ला चोकको ट्राफिक बत्तीमा रोक्न धिमा गतिमा रहेको हरियाणा राज्यको नम्बरप्लेट रहेको कारमा विस्फोट भएको थियो । गोल्छाका अनुसार कारमा अन्य यात्रु पनि सवार थिए । विस्फोटमा आसपासका अन्य गाडी पनि क्षतिग्रस्त भएका छन् । 

दिल्ली प्रहरी र गुरुग्राम प्रहरीले कारधनी भनिएका मोहम्मद सलमानलाई नियन्त्रणमा लिएर कारसम्बन्धी सोधपुछ गरेका छन् । सलमानले उक्त कार ओखलामा बस्ने देवेन्द्र नामका व्यक्तिलाई बेचेकोे र उनले पनि अम्बालामा कुनै अन्य व्यक्तिलाई बिक्री गरेको खुल्न आएको छ । प्रहरीले ती सबैको खोजी गरिरहेको जनाएको छ । 

प्रहरीका अनुसार २४ जना घाइतेको लोकनायक अस्पतालमा उपचार भइरहेको छ । गृहमन्त्री शाह र दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन् । मेट्रो स्टेसनको गेट नम्बर १ छेउमा पार्क गरिएको गाडीमा विस्फोट भएको टाइम्स अफ इन्डियाले जनाएको छ । घटना भएलगत्तै बारुण यन्त्रले आगो निभाएका थिए । 

घटनाप्रति भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी दलका नेता राहुल गान्धी, रक्षामन्त्री राजनाथ सिंह, दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ता, आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुलगायत सबै प्रदेशका मुख्यमन्त्री एवं नेताले दु:ख व्यक्त गरेका छन् । घटनापछि नयाँदिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ भने नेपालसँग सीमा जोडिएका उत्तराखण्ड, उत्तरप्रदेश, बिहार, पश्चिम बंगालसहित सबैजसो राज्यमा सुरक्षा सतर्कता बढाइएको सुरक्षा अधिकारीहरूलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएको छ । अमेरिका, फ्रान्सलगायत देशका दिल्लीस्थित राजदूतावासले घटनाबारे प्रतिक्रिया दिँदै नजिकबाट नियालिरहेको उल्लेख गरेका छन् । उनीहरूले आफ्ना नागरिकलाई सुरक्षित बस्न भनेका छन् । 

समाचार एजेन्सी एएनआईलाई दिएको प्रतिक्रियामा भारतीय गृहमन्त्री अमित शाहले दिल्ली विस्फोटबारे सबै कोणबाट अनुन्धान भइरहेको बताएका छन् । के यो आतंककारी हमला हो ? भन्ने प्रश्नमा शाहले भने, ‘हामी घटनाको सबै कोणबाट अनुसन्धान गर्दै छौँ । अहिले नै यो घटना किन भयो भन्न निकै कठिन छ । विस्फोटस्थलबाट संकलित नमुनाहरूको विश्लेषण नभएसम्म यकिन भन्न कठिन छ । हामी सबै कोणबाट दृढतापूर्वक अनुसन्धान गर्छौँ र चाँडै सार्वजनिक गर्छौँ ।’ 

दिल्लीस्थित नेपाली दूतावासले भन्यो–घटनामा नेपाली परेको जानकारी छैन 
घटनामा नेपाली परेको जानकारी नभएको नेपाली राजदूतावासले जनाएको छ । नयाँदिल्लीमा नेपालीहरूको बाक्लो उपस्थिति छ । नेपाली राजदूतावासका नियोग उपप्रमुख डा. सुरेन्द्र थापाले घटनामा नेपालीहरू परेको जानकारी नभएकोे बताए । ‘यो दु:खद घटनालाई हामीले नजिकबाट नियालिरहेका छौँ । हामी सम्बन्धित भारतीय अधिकारीहरूसँग सम्पर्कमा छौँ । अहिलेसम्म नेपालीहरू परेको जानकारी छैन । दिल्लीसहित भारतभरि नेपाली नागरिक सुरक्षित हुनुहुन्छ,’ उनले नयाँ पत्रिकासँग भने ।

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब