उम्मेदवारीसँगै सम्पत्ति विवरण पनि

  • मंसिर १५, २०८२ | १९९ पटक पढिएको | सीमा संदेश
alt

आगामी फागुन २१ गतेलाई तोकिएको प्रतिनिधि सभा निर्वाचनका लागि आचारसंहिता निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 

निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको प्रारम्भिक मसौदा तयार पारेर सार्वजनिक रूपमा सुझाव सङ्कलन गरिरहेको छ । यसरी प्राप्त सुझावलाई पनि समेटेर आचारसंहितालाई अन्तिम रूप दिने आयोगले जनाएको छ।

यस पटकको निर्वाचनमा विगतको भन्दा केही नयाँ प्रावधान आचारसंहितामा समेटिँदै छ । सबै पक्षबाट सुझाव आएपछि आवश्यकता अनुसार थपघट गरेर आचारसंहितालाई अन्तिम रूप दिइने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो ।  निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न, कम खर्चमा निर्वाचन सम्पन्न गर्न तथा सकेसम्म धेरै मतदाताको उपस्थितिमा सम्पन्न हुने वातावरण निर्माण गर्न आचारसंहिता बनाइँदै छ । यस पटकको निर्वाचनमा सकेसम्म वातावरणमैत्री र प्रदूषण नियन्त्रण गर्ने सामग्री प्रयोग गर्नुपर्ने छ । यस अनुसार राजनीतिक दलहरूले निर्वाचन प्रचार प्रसार, सभा, जुलुस गर्दा वातावरणमैत्री सामग्रीको प्रयोग गर्नुपर्ने छ । सकेसम्म डिजिटल सामग्रीमार्फत प्रचारप्रसार गर्नुपर्ने छ । साथै सकेसम्म विद्युतीय सवारी साधनको प्रयोग गर्नुपर्ने, प्रचारप्रसार गर्दा प्लास्टिक वा अजैविक सामग्रीको प्रयोग नगर्न पनि सरोकारवाला सबैलाई अनुरोध गरिने छ । 

आयोगले आफ्नातर्फबाट पनि निर्वाचनका लागि प्रयोग गरिने सामग्री सम्भव भएसम्म वातावरणमैत्री हुने जनाएको छ । मतदानस्थलमा प्रयोग हुने सामग्री पनि स्थानीय रूपमै उत्पादन गरिएको हुनुपर्ने आयोगले जनाएको छ । 

निर्वाचनमा आयोगले सम्बन्धित उम्मेदवारलाई सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने प्रावधान ल्याउँदै छ, जुन नयाँ हो । आचारसंहितासम्बन्धी मसौदा अनुसार निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवार हुने व्यक्तिले मनोनयनपत्र साथ सम्पत्ति विवरण निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्ने हुन्छ । उक्त विवरण मतदानको अन्तिम परिणाम प्रकाशन नभएसम्म सुरक्षित र गोप्य राखिने आयोगका प्रवक्ता भट्टराईले बताउनुभयो । आचारसंहितासम्बन्धी मसौदाको दफा १९ अनुसार सम्पत्ति विवरण पेस गर्ने उम्मेदवार निर्वाचित भएमा निजको मञ्जुरीका आधारमा आयोगले तोकेबमोजिम त्यस्तो सम्पत्ति विवरण सार्वजनिक गर्ने छ । उम्मेदवार निर्वाचित नभएमा र सम्बन्धित उम्मेदवारले माग गरेमा फिर्ता दिइने आचारसंहिताको दफा १९ को उप दफा २ (ग) मा उल्लेख गरिएको छ ।

त्यस्तै राजनीतिक दललाई आफ्नो प्रचारप्रसारका लागि सञ्चारको माध्यम प्रयोग गर्दा पनि कडाइ गरिएको छ । राजनीतिक दलले टेलिभिजन तथा रेडियोको माध्यमबाट निर्वाचन प्रचारप्रसार गर्दा कम्तीमा एक घण्टाको अन्तरालमा चौबिस घण्टामा बढीमा चार पटक प्रशारण गर्न पाउने छन् । यस्तो प्रसारण एक पटकमा बढीमा एक मिनेटको मात्रै हुनुपर्ने आचारसंहितासम्बन्धी मसौदामा उल्लेख छ । 

उम्मेदवारले मनोनयन दर्ता गर्दा निर्वाचनमा आफूले खर्च गर्ने अनुमानित रकम र उक्त रकमको स्रोत उल्लेख गर्नुपर्ने छ । निर्वाचनसम्बन्धी खर्च गर्दा राजनीतिक दल तथा उम्मेदवारले बैङ्क वा वित्तीय संस्थाबाट गर्नुपर्ने आचारसंहितामा उल्लेख छ । 

आयोगले निर्वाचन आचारसंहिताको मसौदा तयार पार्नुअघि गत कात्तिक २७ गते मुख्य राजनीतिक दलहरूसँग पनि छलफल गरेको थियो । उक्त छलफलबाट प्राप्त सुझावका आधारमा तयार पारिएको मसौदालाई इमेलमार्फत सम्बन्धित दललाई पनि पठाइएको प्रवक्ता भट्टराईले बताउनुभयो । अन्तिम रूप दिएपछि कार्यान्वयनका लागि फेरि दलसँग छलफल गरिने पनि आयोगले जनाएको छ । 

निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिताको मसौदा प्रस्ताव गरेको हो । आचारसंहिता निर्वाचनसँग सम्बन्धित व्यक्ति, संस्था, निकाय वा अधिकारीले पालना गर्नुपर्ने हुन्छ । आयोगका पूर्वकार्यवाहक प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङले निर्वाचनसम्बन्धी आचारसंहिता पालना गर्नु सबैको दायित्व भएको बताउनुभयो । उहाँले भन्नुभयो, “आचारसंहिता भनेको कार्यान्वयन गर्नका लागि बनाइएको हो तसर्थ यसको कार्यान्वयन र कारबाहीमा कडाइ हुनु पर्छ ।”

आयोगले मतदान हुनुभन्दा दुई महिनाअघिदेखि निर्वाचन आचारसंहिता लागु गर्ने तयारी गरेको छ । यद्यपि कुन दिनबाट लागु गर्ने भन्ने विषयमा भने अहिले नै यकिन नभएको प्रवक्ता भट्टराईले बताउनुभयो ।

मध्यपूर्व युद्धको असर : नेपालमा पनि पेट्रोल १५, डि

मध्यपूर्व (पश्चिम एसिया)मा भएको युद्धका कारण नेपाली बजा ...

‘नेपालको आकाशमा देखिएको चम्किलो दृश्य रकेटको हुनसक

नेपालका विभिन्न स्थानहरूबाट आज साँक्ष आकाश चम्किलो उज्य ...

चैत्र २ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८२ साल चैत्र २ गते । सोमबार । इस ...

चुनावी प्रचारमा लाग्ने शिक्षक र कर्मचारीलाई कारबाह

प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारद ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब