भेनेजुएलामा अमेरिकी आक्रमण, राष्ट्रपति मादुरो नियन्त्रणमा

  • पुस २०, २०८२ | २२८ पटक पढिएको | सीमा संदेश
alt

अमेरिकाले शनिवार बिहान एकाएक भेनेजुएलामाथि आक्रमण गरेको छ । सो आक्रमणमा परी भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो अमेरिकी सेनाले नियन्त्रणमा लिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएला र त्यहाँका राष्ट्रपतिविरुद्ध ठूलो परिमाणमा आक्रमण गरिएको र राष्ट्रपति मादुरो आफूहरूको कब्जामा रहेको दाबी गर्नुभएको छ । शनिवार सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा पोस्ट गर्दै ट्रम्पले यो अपरेसनपछि मादुरो र उहाँकी पत्नीलाई नियन्त्रणमा लिएर देशबाहिर लगिएको दाबी गर्नुभएको हो । भेनेजुएलाकी उपराष्ट्रपति डेल्सी रोड्रिग्जले राष्ट्रपति मादुरोको पछिल्लो अवस्था अज्ञात रहेको भन्दै उहाँको अवस्था सार्वजनिक गर्न र जीवित रहेको प्रमाण दिन अमेरिकासँग माग गर्नुभएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलामाथिको यो कारबाही अमेरिकी कानुन कार्यान्वयन गर्ने निकायसँगको समन्वयमा भएको बताए पनि यसको विस्तृत विवरण भने सार्वजनिक गर्नुभएको छैन । शनिवार बिहानै अमेरिकाले भेनेजुएलाभित्र आक्रमण गरेको थियो, जसका कारण सिंगो मुलुकभर त्रास र आतंक बढेको छ ।

फक्स न्युज र सीबीएस न्युजजस्ता अमेरिकी मिडियाले पनि दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा आक्रमण भएको पुष्टि गरेका थिए । अमेरिकी उपविदेशमन्त्री क्रिस्टोफर ल्यान्डाउले सामाजिक सञ्जाल एक्समा लेख्दै यसलाई भेनेजुएलाका लागि ‘नयाँ बिहानी’ को संज्ञा दिनुभएको छ । उहाँले तानाशाह सत्ताबाट हटेको र अब उसले आफ्ना अपराधको सजाय भोग्ने दाबी गर्नुभएको छ । तर, भेनेजुएलामाथिको अमेरिकी आक्रमणको विश्वभर निन्दा र भत्र्सना भएको छ ।

कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले अमेरिकाले भेनेजुएलामाथि आक्रमण गरेको भन्दै विश्वलाई यस कार्यको विरोध गर्नुपर्ने भन्दै सचेत गराउनुभएको छ । उहाँले कुनै पनि प्रकारको सशस्त्र मुठभेडभन्दा शान्ति र अन्तर्राष्ट्रिय कानुनको सम्मान ठूलो हुने भन्दै भेनेजुएलाको सार्वभौमसत्तामाथिको आक्रमण अस्वीकार्य रहेको बताउनुभयो । पेट्रोले लगत्तै भेनेजुएलाको सीमा नाकामा सेना परिचालनको घोषणा गर्नुभएको छ ।

क्युबाका राष्ट्रपति मिगुयल डियाज–कानेलले पनि यसलाई ‘आपराधिक आक्रमण’ र ‘राज्य आतंक’ भन्दै कडा शब्दमा निन्दा गर्नुभएको छ ।

रुस र इरानले पनि अमेरिकी कदमको विरोध गरेका छन् । रुसी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अमेरिकाले गरेको ‘सशस्त्र आक्रमण’को भत्र्सना गरेको छ र यसले गम्भीर चिन्ता बढाएको जनाएको छ । मस्कोले थप द्वन्द्व बढ्न नदिन र वार्तामार्फत समाधान खोज्न आग्रह गर्दै भेनेजुएलाका जनतालाई आफ्नो भाग्य आफैँ निर्णय गर्ने अधिकार हुनुपर्नेमा जोड दिएको छ । इरानले पनि यसलाई राष्ट्रिय सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको ठाडो उल्लंघन भनेको छ ।

युरोपेली युनियन (ईयू) ले भने स्थितिलाई नजिकबाट नियालिरहेको जनाएको छ । ईयूकी विदेश नीति प्रमुख काजा लासले मादुरोको वैधानिकता नभए पनि शान्तिपूर्ण संक्रमणको पक्षमा ईयू रहेको र जुनसुकै परिस्थितिमा अन्तर्राष्ट्रिय कानुनको पालना हुनुपर्ने बताउनुभएको छ । स्पेनले संयमता अपनाउन र तनाव कम गर्न आग्रह गर्दै मध्यस्थताको प्रस्ताव गरेको छ भने इटालीले भेनेजुएलामा रहेका आफ्ना नागरिकको सुरक्षाप्रति चासो व्यक्त गरेको छ ।

मादुरो किन परे अमेरिकाको तारोमा ?
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले अमेरिकी साम्राज्यवादी नीतिको सधैं विरोध गर्दै आाउनुभएको थियो । ल्याटिन अमेरिकामा अमेरिकी धारको विरोध गर्दै उहाँ सत्तामा जान सफल हुनुभएको थियो । उहाँको सम्पूर्ण राजनीतिक जीवन अमेरिकी प्रभुत्व, हस्तक्षेप र दबाबको प्रतिरोधसँग गाँसिदै आएको छ ।

मादुरोको जन्म सन् १९६२ नोभेम्बर २३ मा काराकासमा भएको थियो । मध्यम वर्गीय परिवारमा हुर्कनुभएका उहाँ औपचारिक उच्च शिक्षाभन्दा बढी श्रमिक जीवन र आन्दोलनबाट उदाउनुभएको थियो । काराकास मेट्रोमा चालकका रूपमा काम गर्दा ट्रेड युनियन आन्दोलनमा सक्रिय हुनुभयो । यही श्रमिक पृष्ठभूमिले उहाँलाई सामाजिक असमानता, विदेशी प्रभुत्व र राज्यको भूमिकाबारे गहिरो राजनीतिक चेत दिएको थियो ।

१९९० को दशकमा ह्युगो चाभेज उदाउँदा मादुरो उहाँको नजिक पुग्नुभयो । चाभेजको अमेरिका विरोधी, साम्राज्यवाद विरोधी र समाजवादी विचारधाराले उहाँलाई राजनीतिक रूपमा दृढ बनायो । यही चरणबाट उहाँ ‘बोलिभेरियन क्रान्ति’ का अनुयायी बन्नुभयो ।

ह्युगो चाभेज भेनेजुएलामा अमेरिकी प्रभाव तोड्ने नेता हुनुहुन्थ्यो । तेलजस्तो रणनीतिक स्रोतमा अमेरिकी नियन्त्रण घटाउने, सामाजिक कार्यक्रम विस्तार गर्ने र क्युबा, रुस, चीनजस्ता मुलुकसँग सम्बन्ध बढाउने चाभेजको नीतिले वासिङ्टन असन्तुष्ट थियो । यही राजनीतिक धरोहर मादुरोले बोक्नुप¥यो । चाभेजको शासनकालमै उहाँ विदेशमन्त्री बन्नुभएको थियो ।
सन् २०१३ मा चाभेजको निधनपछि मादुरो राष्ट्रपति बन्नुभयो ।

त्यही बेलादेखि नै अमेरिका र भेनेजुएलाबीचको टकराब अझ तीव्र भयो । अमेरिकी प्रशासनले मादुरो सरकारलाई ‘अलोकतान्त्रिक’ घोषणा गर्दै आर्थिक प्रतिबन्ध सुरु ग¥यो । तेल व्यापार, बैंकिङ प्रणाली र अन्तर्राष्ट्रिय लेनदेनमा लगाइएका प्रतिबन्धले भेनेजुएलाको अर्थतन्त्र गहिरो संकटमा धकेलियो । भेनेजुएलाको संकट आन्तरिक असफलताभन्दा बढी अमेरिकी हस्तक्षेपको परिणाम थियो । यही भाष्यले उहाँका समर्थकहरूलाई संगठित ग¥यो । तर, उहाँको बढ्दो लोकप्रियता अमेरिकालाई मन नपरेपछि मादुरोलाई अपदस्थ गरी कब्जामा लिएर अज्ञात पारिएको बताइएको छ ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब