मुम्बई । बलिउड अभिनेत्री मलाइका अरोडाले पछिल्लो समय आफ्नो प्रेम जीवन र व्यवसायी हर्ष मेहेतासँग जोडेर भइरहेका चर्चाबारे मौनता तोडेकी छन्।
गत वर्ष मुम्बईमा आयोजित एनरिक इग्लेसियसको कन्सर्टमा हीरा व्यवसायी हर्ष मेहेतासँग देखिएपछि मलाइका उनीसँग प्रेम सम्बन्धमा रहेको हल्ला चलेको थियो। एक अन्तर्वार्ताका क्रममा मलाइकाले यस्ता हल्लालाई ‘हाँस उठ्दो’ भन्दै खण्डन गरेकी हुन्।
'द नम्रता जकारिया सो' मा कुराकानी गर्दै मलाइकाले आफू बाहिर निस्कँदा जोसुकैसँग देखिए पनि सञ्चारमाध्यमले नाम जोडिदिने गुनासो गरिन्। उनले भनिन्, ‘मानिसहरूलाई कुरा काट्न मन पर्छ। म बाहिर जाँदा कुनै पुरानो साथी, म्यानेजर वा विवाहित साथी जोसुकैसँग देखिए पनि मेरो नाम उनीहरूसँग जोडिन्छ। म यस्ता अनावश्यक कुरालाई प्रश्रय दिन चाहन्न किनभने यसले कसैलाई फाइदा पुग्दैन।’
मलाइकाले ३३ वर्षीय हर्षसँगको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा भइरहेका अड्कलबाजीलाई आफू र आफ्ना साथीहरूले हाँसेर उडाउने गरेको समेत बताइन्।
अन्तर्वार्ताकै क्रममा मलाइकाले पूर्व प्रेमी एवं अभिनेता अर्जुन कपुरको बारेमा पनि भावुक अभिव्यक्ति दिएकी छन्। लामो समयको प्रेम सम्बन्ध पछि छुट्टिएका अर्जुनका बारेमा बोल्दै उनले भनिन्, ‘अर्जुन मेरो जीवनको निकै महत्त्वपूर्ण हिस्सा हुन् र सधैँ रहनेछन्। जे जस्तो भए पनि उनी मेरो लागि धेरै अर्थ राख्छन्।’ यद्यपि, उनले आफ्नो विगत वा भविष्यको बारेमा धेरै चर्चा गरेर निजी जीवनलाई मिडियाको ‘फिडिङ ग्राउन्ड’ बनाउन नचाहने स्पष्ट पारिन्।
मलाइका र अर्जुनको ब्रेकअपपछि सञ्चारमाध्यममा मलाइकाले हर्ष मेहेतालाई डेट गरिरहेको खबरले निकै प्राथमिकता पाएको थियो। हर्ष र मलाइका केही अन्य अवसरहरूमा पनि सँगै देखिएका थिए।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved