सिरहाका प्रमेन्द्र : सिभिल इन्जिनियरिङ पढेका मूर्तिकार

  • माघ ९, २०८२ | १४२ पटक पढिएको | सीमा संदेश
alt

सपना कस्को हुँदैन ? कोही डाक्टर बन्न चाहन्छ, कोही इन्जिनियर त कोही अन्य पेशामा सफलता खोज्छ । तर नेपालमा रोजगारी र सीपको अभावका कारण आज पनि धेरै युवा विदेशिन बाध्य छन् । यही यथार्थबीच युवाका लागि उदाहरणीय पात्र बनेका छन्– सिरहा नगरपालिका–३, मखनाहाका २३ वर्षीय प्रमेन्द्र कुमार मण्डल।

सिभिल इन्जिनियरिङमा डिप्लोमासम्म औपचारिक शिक्षा लिएका मण्डल अहिले माटोका मूर्ति निर्माणलाई नै आफ्नो मुख्य पेशा बनाइरहेका छन् । त्यही नै उनको परिवारको आर्थिक आधार बनेको छ ।

बाल्यकालमै साना–साना माटोका मूर्ति बनाएर खेल्ने मण्डल सरस्वती पूजाका दिन साथीहरूबाट दुई–दुई रुपैयाँ चन्दा उठाएर पूजा–अर्चना गर्ने गर्थे । पाँच रुपैयाँ खर्चेर पूजा सामग्री किन्दा उनले पाएको सिर्जनात्मक खुसी आज पनि उनलाई स्मरणीय छ ।

कक्षा ४ मा पढ्दै गर्दा एक महायज्ञमा देखेको ठूलो हनुमानको मूर्तिले उनलाई गहिरो प्रभाव पारेको थियो । त्यसपछि उनले आफैं हनुमानको मूर्ति बनाउने प्रयास गरे । उनले बनाएको सानो हनुमानको मूर्ति पहिलो पटक १० रुपैयाँमा बिक्री हुँदा उनको मनमा नयाँ आशा पलायो– मूर्ति बनाएर पनि आम्दानी गर्न सकिँदो रहेछ । यहीँबाट उनको यात्राले गति लियो ।

निरन्तर अभ्याससँगै उनका मूर्तिको मूल्य क्रमश: बढ्दै गयो । केही समयमै साना मूर्तिहरू ५० रुपैयाँसम्ममा बिक्री हुन थाले । एक दिन उनको कला देखेर प्रभावित भएकी शिक्षिकाले ५ सय रुपैयाँ उपहार दिइन् । ‘पहिले १०–५० रुपैयाँ कमाइरहेको ठाउँमा एकैचोटि ५ सय रुपैयाँ पाउँदा अझ राम्रो गरे धेरै सम्भावना रहेको महसुस भयो,’ उनी भन्छन्, ‘त्यो रकम मेरो जीवनको ठूलो प्रेरणा बन्यो । कक्षा ६ सम्म पुग्दा उनले ६ वटा मूर्ति बनाएर बजारमा बिक्री गरिसकेको थिएँ ।’

बिस्तारै बजारमा उनका मूर्तिको चर्चा हुन थाल्यो । छिमेकी देश भारतको जयनगरमा पाइने मूर्तिजस्तै देखिने मूर्ति सिरहामै बनेको देख्दा स्थानीय बासिन्दा चकित पर्न थाले । बजार व्यवस्थापनबारे खासै ज्ञान नभए पनि उनले आफ्नो सीपलाई निरन्तरता दिइरहे ।

पहिलो वर्ष करिब २ हजार रुपैयाँ नाफा कमाएका मण्डलले दोस्रो वर्ष १२ वटा मूर्ति बिक्री गरेर ४० हजार रुपैयाँ आम्दानी गरे । यहीँबाट व्यवसाय विस्तार गर्ने सोच बन्यो । त्यसपछि गाउँ–घरमा हुने पूजा–अर्चना, अष्टजामलगायत धार्मिक कार्यक्रममा मूर्ति निर्माणका अर्डर आउन थाले ।

आफ्नो सीपबाट परिवारलाई आर्थिक रूपमा सहयोग गर्न थालेका मण्डलले जेठा दाजु धर्मेन्द्र कुमार मण्डललाई इलेक्ट्रोनिक्स इन्जिनियरिङ अध्ययन गर्नसमेत सहयोग गरे । ‘सानो भाइ भएर दाजुलाई इन्जिनियर पढाउन पाउँदा गर्व लाग्छ,’ उनी भन्छन्, ‘पछि दाजुले पनि मेरो काममा साथ दिन थाल्नुभयो ।’

मूर्ति उत्पादन बढेपछि हाल मण्डलले तीन जना युवालाई ज्यालादारीमा रोजगारी दिएका छन् । उनीहरूलाई मूर्तिकला सम्बन्धी सीपसमेत सिकाइरहेका छन् ।

ठूलो कलेजमा पढ्ने चाहना हुँदाहुँदै घरको कमजोर आर्थिक अवस्थाका कारण पूजा–अर्चनाको समयमा गाउँ–गाउँ घुमेर मूर्ति बनाउने काममै लाग्नुपरेको उनी बताउँछन् ।

आर्थिक अभावकै कारण प्लस टु पछि ओभरसियर (डिप्लोमा सिभिल इन्जिनियरिङ) अध्ययन गरेका मण्डलले मनमोहन मेमोरियल पोलिटेक्निकबाट तीन वर्षे कोर्स पूरा गरेका छन् । उनका माटोका मूर्ति अहिले सिरहा जिल्लाभर र विराटनगर बजारसम्म पनि पुग्ने गरेका छन् । अर्डरअनुसार सबै धर्मसँग सम्बन्धित मूर्ति बनाउने गरेको उनी बताउँछन् ।

परम्परागत रूपमा कुम्हाल समुदायसँग जोडिएको माटोको मूर्तिकला मण्डल समुदायको भएर पनि सिक्न पाउँदा गर्व लागेको उनको भनाइ छ । उनी अन्य युवालाई पढाइसँगै आफूलाई मन लागेको काम गर्न सुझाव दिन्छन् । ‘सीप भयो भने आफ्नै ठाउँमा बसेर पनि काम गरेर खान सकिन्छ, विदेश जानै पर्दैन,’ उनी भन्छन् ।

माटोका मूर्तिको बजार व्यवस्थापनमा राज्यले सहयोग गर्नुपर्ने उनको माग छ । सधैं प्रयोग हुने भएकाले यसको दीर्घकालीन व्यवस्थापन आवश्यक रहेको उनको भनाइ छ । ठूला मन्दिरहरूमा बाहिरबाट लाखौं खर्च गरेर मूर्तिकार ल्याउने प्रवृत्ति रोक्दै स्थानीय मूर्तिकारलाई अवसर दिनुपर्नेमा उनी जोड दिन्छन् ।

हाल सबै खर्च कटाएर वार्षिक ८ देखि १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको उनी बताउँछन् । माटोलाई जीवनको आधार बनाएका प्रमेन्द्र मण्डल आज सिरहाका युवाका लागि प्रेरणाको स्रोत बनेका छन् ।

सईले डीआईजी हल्लाए सर्वसधारणलाई १ सयको सीमा, तस्कर

सीमानाकामा हुने गरेको तस्कर र प्रहरी बीचको मिलेमतो र ले ...

चामलमा विषको मात्रा अत्यधिक

नेपालको मुख्य खाद्यान्न बाली धानमा प्रयोग भइरहेका रसायन ...

लहानमा स्नेह वृद्धाश्रम निर्माण सुरु

लहान नगरपालिका–२४, गोविन्दपुरमा स्नेह वृद्धाश्रम ...

विवाहमा विवाद हुँदा युवकको हत्या, २ जना पक्राउ

कञ्चनपुरमा युवकको हत्या भएको छ । पुनर्वास नगरपालिका&nda ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब