प्रतिनिधि सभामा सबैभन्दा ठुलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहलाई सर्वसम्मत रूपमा संसदीय दलको नेता चयन गरेको छ ।
रास्वपा केन्द्रीय कार्यालय चःमतिमा बिहीबार बसेको केन्द्रीय समिति बैठकले संसदीय दलको विधान परिमार्जनसहित पार्टीका वरिष्ठ नेता शाहलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो । गत फागुन २१ मा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनअघि भएको सहमतिमा शाह संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने घोषणा भएको थियो ।
सोही सहमति अनुसार केन्द्रीय समितिको बैठकले संसदीय दलसम्बन्धी विधानमा रहेको बाधा अड्काउ (धारा ८०) फुकाउँदै केन्द्रीय समितिलाई प्राप्त अधिकार प्रयोग गरी संसदीय दलको विधान परिमार्जन गरेको हो । रास्वपा सभापति रवि लामिछानेको प्रस्तावलाई केन्द्रीय समिति बैठकले सर्वसहमतिसहित अनुमोदन गरेको हो । शाह संसदीय दलको नेता चयन भएसँगै सभापति लामिछानेले आगामी प्रधानमन्त्रीका रूपमा शाहलाई शुभकामना व्यक्त गर्नुभयो ।
सभापति लामिछानेले भन्नुभयो, “संसदीय दलको तर्फबाट वरिष्ठ नेता शाहलाई हार्दिक बधाइका साथै सफलताको शुभकामना दिन चाहन्छु ।” लामिछानेको उक्त भनाइपछि संसदीय दलको बैठकले सामूहिक रूपमा घन्टी बजाएर अनुमोदन गरेको थियो । वरिष्ठ नेता शाह संसदीय दलको नेता चयन भएसँगै प्रधानमन्त्रीमा उहाँको शपथग्रहणको तयारी भइरहेको छ ।
शुक्रबार अपराह्न १२:३४ बजे राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई नेपालको संविधानको धारा ७६ (१) अनुसार प्रधानमन्त्रीको शपथग्रहण गराउनुहुने गरी राष्ट्रपति कार्यालयमा तयारी गरिएको छ । प्रधानमन्त्रीको शपथसँगै मन्त्रीपरिषद् विस्तार गर्नेबारे सभापति लामिछाने, वरिष्ठ नेता शाह, उपसभापतिद्वय डोलप्रसाद (डिपी) अर्याल र डा. स्वर्णिम वाग्लेबिच निरन्तर छलफल र परामर्श भइरहेको छ । आगामी सरकार सुशासन र मितव्ययिता कायम गर्ने गरी सानो आकार (१५ देखि १८) जनाको गठन गर्ने गरी तयारी भइरहेको जनाइएको छ ।
शाहले प्रधानमन्त्रीमा शपथ लिँदा वैदिक–सनातन परम्परा झल्किने गरी १०८ जना बटुकद्वारा स्वस्ति–शान्ति वाचन तथा १६ जना बौद्ध भिक्षुले मङ्गल पाठ गर्ने र सात वटा शङ्खबाट शङ्खनाद गरिने तयारी गरिएको छ । आगामी सरकारको प्रमुख ध्यान मुलुकमा सुशासन कायम गर्ने रहेको जनाउँदै रास्वपाले मन्त्री चयन गर्दा विषय विज्ञता र अनुभवका आधारमा गर्ने जनाएको छ । सरकार गठनसँगै प्रतिनिधि सभाको सभामुख, प्रमुख सचेतकलगायत चयन गर्नेबारे पनि छलफल भइरहेको छ ।
काठमाडौं महानगरपालिकाका पूर्वमेयर शाह फागुन २१ गते भएको प्रतिनीधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट भारी मतले विजयी भएका हुन्। प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दर्ता गर्नुभन्दा केही दिनअघि मेयरबाट राजीनामा दिएका उनी रास्वपामा वरिष्ठ नेताको पदसहित प्रवेश गरेका हुन्। रास्वपा शाहलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर निर्वाचनमा गएको थियो। रास्वपाले पूर्वघोषणाअनुरुप शाहलाई प्रधानमन्त्री बनाउन संसदीय दलको नेता चयन गरेको छ। शाहले शुक्रबार कार्यकारी प्रधानमन्त्री पदको शपथसँगै मुलुकको बागडोर सम्हाल्ने छन्।
शाहको जन्म १४ वैशाख २०४७ मा काठमाडौंको नरदेवीमा भएको हो। उनी हाल गैरिगाउँ, तिनकुनेका बासिन्दा हुन्। आयुर्वेदिक चिकित्सक डा. रामनारायण शाह र धुव्रादेवी साह उनका मातापिता हुन्। उनको पुख्र्यौली थलो मधेस प्रदेशको महोत्तरी जिल्ला हो।
काठमाडौं नरदेवीस्थित जल्जला स्कुलबाट प्रारम्भिक शिक्षा लिएका उनले उच्च माध्यमिक तहको शिक्षा भिएस निकेतनबाट पास गरेका हुन्। उनले स्नातक तहको अध्ययन काठमाडौंमै रहेको हिमालयन ह्वाइट हाउस कलेजबाट पूरा गरेका हुन्। त्यहाँ उनले सिभिल इन्जिनियरिङ अध्ययन गरेका थिए। उनले स्नातकोत्तर तहको अध्ययन भारतमा गरेका हुन्। भारतको कर्नाटकबाट स्ट्रकचरल इन्जिनिरिरिङ अध्ययन पूरा गरेका शाहलाई निर्माणसम्बन्धी कार्यको अनुभव पनि छ।
२०७२ सालको भूकम्पपछि देशका विभिन्न स्थानमा पुगेर उनी पुनःनिर्माणको काममा संलग्न भएका थिए। भूकम्प र कोभिड महामारीका बेला विभिन्न तरिकाले सामाजिक र पेसागत कार्यमा सक्रिय रहेका उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट निर्वाचित भए। बालेन कन्सल्टिङ र कन्स्ट्रक्सन प्रालिका सञ्चालकसमेत भएर काम गरेका उनी ¥याप ब्याटल गायक पनि हुन्।
उनी नेपाली ¥याप ब्याटल दोस्रो लिगका विजेता पनि हुन्। उनी लामो समयदेखि संगीतको यो विधामा संलग्न छन्। ¥याप गायक उनका देश विदेशमा थुप्रै प्रशंसक छन्। सानैदेखिे संगीत र कवितामा पनि रुचि राख्ने उनले आफ्नो पहिलो गीत ‘सडक बालक’ सन् २०१२ मा गाएका थिए। यो गीत उनले कक्षा ९ मा पढ्दा लेखेको बताइन्छ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved