मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले एसइई परीक्षा विद्यार्थीको भविष्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय भएकाले यसको सञ्चालनमा कुनै किसिमको लापरबाही हुन नहुने बताएकी छन् ।
शिक्षा तथा संस्कृति मन्त्रालय मधेस प्रदेशको आयोजनामा आज जनकपुरधाममा विद्यालय शिक्षा परीक्षा एसइई–२०८२ लाई व्यवस्थित, मर्यादित र निष्पक्ष रूपमा सञ्चालन गर्ने उद्देश्यले आयोजित प्रदेशस्तरीय समन्वय बैठकमा मन्त्री तिवारीले परीक्षा शान्त, व्यवस्थित र मर्यादित वातावरणमा सम्पन्न गराउन सबै सम्बन्धित निकायलाई जिम्मेवार र सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिइन् ।
मन्त्री तिवारीले परीक्षालाई थप कडाइका साथ सञ्चालन गरिने स्पष्ट पार्दै परीक्षा केन्द्रमा मोबाइल फोन लैजान पूर्ण रूपमा निषेध गरिएको बताइन् । यदि कुनै परीक्षार्थीले मोबाइल साथमा ल्याएको पाइएमा सो मोबाइल जफत गरी नष्ट गरिने उनले बताइन् । उनले विद्यार्थी तथा अभिभावकलाई कुनै पनि प्रकारको लापरबाही नगर्न आग्रह गर्दै नियमको पूर्ण पालना गर्न अपिल गरिन् ।
मन्त्री तिवारीले परीक्षा केन्द्रहरूको सुरक्षा व्यवस्थापन, प्रश्नपत्रको गोपनीयता, नक्कल नियन्त्रण तथा अनुगमनलाई प्रभावकारी बनाउन विशेष जोड दिँदै सम्बन्धित जिल्ला प्रशासन, सुरक्षा निकाय र शिक्षा निकायबीच समन्वय मजबुत बनाउन आग्रह गरिन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved