बलिउडका ‘नेपो किड्स’ उद्योगबाहिरका नयाँ ट्यालेन्टसँगको प्रतिस्पर्धामा पछाडि

  • वैशाख २, २०८३ | ८७ पटक पढिएको | सीमा संदेश
alt

मुम्बई । हलिउड होस् वा बलिउड, ‘नेपो बेबी’ अर्थात् चर्चित र प्रभावशाली कलाकारका सन्तानले सधैं केही न केही सहजता पाउँदै आएका छन् । प्रतिभा कस्तो छ भन्नेभन्दा पनि उनीहरूका लागि स्टार बन्ने ढोका पहिल्यै खुलेको जस्तो देखिन्थ्यो ।

जहाँ अभिनयमा मौका पाउन नयाँ कलाकारहरूले वर्षौं संघर्ष गर्नुपथ्र्यो, त्यहीँ फिल्मी परिवारबाट आएका व्यक्तिहरूले सम्बन्ध, स्रोत र पहुँचको प्रयोग गर्दै ठूला निर्माता-निर्देशकसँग सजिलै काम पाउने गरेका थिए । सोनम कपुर र रणवीर कपुरलाई सञ्जय लीला भन्सालीले लञ्च गरे ।

आलिया भट्ट, जाह्नवी कपुर र वरुण धवनलाई करण जोहरले अघि ल्याए । सुहाना खान, अगस्त्य नन्दा र खुशी कपुरलाई जोया अख्तरले मौका दिइन् भने टाइगर श्राफलाई साजिद नाडियाडवालाले समर्थन गरे ।

यसैबीच, ‘नेपो बेबी’ र ‘आउटसाइडर’ बीचको बहस लामो समयदेखि चलिरहेको छ । कंगना रनौतले टेलिभिजन कार्यक्रम ‘कफी विथ करण’ मा यो विषय उठाएपछि बलिउडमाथि स्टार किडलाई प्राथमिकता दिने आरोप झन् तीव्र भयो ।

तर पछिल्ला वर्षमा अवस्था केही बदलिँदै गएको देखिन्छ । फिल्मी परिवारबाट आएका नयाँ कलाकारहरू अब स्वतः पहिलो रोजाइ बन्न छोडेका छन् । निर्देशक र निर्माता अहिले स्टार पावरभन्दा पनि प्रतिभालाई प्राथमिकता दिन थालेका छन् ।

यो परिवर्तन खासगरी त्यतिबेला देखिन थाल्यो, जब धेरै स्टार किडहरू दर्शकसँग जोडिन असफल भए । गत वर्षको म्युजिकल ब्लकबस्टर “सैयारा” बाट डेब्यु गरेका अहान पाण्डेय बाहेक पछिल्ला वर्षमा कुनै पनि नेपो डेब्युटेन्टले ठूलो व्यावसायिक सफलता हासिल गर्न सकेका छैनन् ।

सैफ अली खानका छोरा इब्राहिम अली खानले आफ्नो पहिलो फिल्म “नादानियाँ” (नेटफ्लिक्स) र त्यसपछिको “सरजमीन” (जियो हटस्टार) का लागि कडा आलोचना सामना गर्नुपर्‍यो । दुवै फिल्मको कथा र उनको अभिनय दुवै आलोचित भए । उनको तेस्रो फिल्म “दिलेर” एक वर्षभन्दा बढी समयदेखि तयार भए पनि रिलिजको पर्खाइमा छ ।

सञ्जय कपुरकी छोरी शनाया कपुर पनि आफ्ना फिल्म “आँखों की गुस्ताखियाँ” र “तू या मैं” मार्फत दर्शकलाई आकर्षित गर्न असफल भइन् । बोनी कपुर र स्वर्गीय श्रीदेवीकी छोरी खुशी कपुरले पनि “लभयापा” मार्फत थिएटरमा सफलता पाउन सकिनन् । आमिर खानका छोरा जुनैद खान पनि अहिलेसम्म स्थापित हुन सकेका छैनन् । शाहरुख खानकी छोरी सुहाना खानले “द आर्चिज” बाट डेब्यु गर्दा उनको अभिनयप्रति आलोचना भयो ।

सुनिल शेट्टीका छोरा अहान शेट्टीले “बोर्डर २” मा केही सफलता पाएका भए पनि मुख्य भूमिकामा उनी अझै स्वीकार्य हुन सकेका छैनन् । अमिताभ बच्चनकी नातिनी अगस्त्य नन्दाले “इक्किस” मा अभिनय क्षमता देखाए पनि व्यावसायिक सफलता पाउन बाँकी छ । स्वर्गीय इरफान खानका छोरा बाबिल मुख्यतः ओटीटीमै सीमित देखिएका छन् ।

रवीना टन्डनकी छोरी राशा थडानी र अजय देवगनका भतिजा आमन देवगनले “आजाद” बाट डेब्यु गरे पनि फिल्मले ठूलो बजेटका बाबजुद १० करोडसम्म पनि कमाउन सकेन । शशि कपुरका नाति जहान कपुर थिएटरमा असफल भएपछि स्ट्रिमिङतर्फ लागेका छन् । अक्षय कुमारकी भान्जी सिमर भाटिया, ऋतिक रोशनकी कजिन पश्मिना रोशन र सलमान खानकी भान्जी अलीजे अग्निहोत्रीले पनि अपेक्षित स्वागत पाएनन् ।

उद्योगसँग नजिक रहेका व्यक्तिका अनुसार दर्शकको सोचमै ठूलो परिवर्तन आएको छ । पहिले चिनिने थरका कारण लगानी, प्रचार र वितरण सजिलो हुन्थ्यो । तर अहिले त्यो सुरक्षित आधार काम नगर्ने अवस्था आएको छ । एक निर्माता भन्छन्, “अहिले स्टार किडको फिल्म घोषणा भएदेखि नै नकारात्मक प्रतिक्रिया आउन थाल्छ । दर्शकको चासो घट्दै गएको देखिन्छ ।”

यस अस्वीकृतिका पछाडि केही कारण पनि छन् । धेरै स्टार किडहरूले सुरक्षित र परम्परागत कथा रोज्दा ती फिल्महरू दर्शकसँग भावनात्मक रूपमा जोडिन सकेनन् । कतिपयलाई पर्याप्त तयारी बिना नै छिट्टै लञ्च गरिँदा उनीहरूको अभिनय सामाजिक सञ्जालमा मजाकको विषय बन्यो ।

अर्का एक उद्योग स्रोतका अनुसार, “अब दर्शक पहिले जस्तो सहनशील छैनन् । उनीहरूलाई को स्टार किड हो वा बाहिरबाट आएको हो भन्नेभन्दा फिल्मको गुणस्तर र अनुभव महत्वपूर्ण लाग्छ ।”

यसैको असर रूपमा धेरै नेपो कलाकारसँग नयाँ प्रोजेक्टको अभाव देखिएको छ । शनाया, अगस्त्य, आमन, सिमर र पश्मिनासँग अहिले कुनै फिल्म छैन । खुशी र इब्राहिमसँग एक-एक फिल्म मात्र छन् । राशा भने आफ्ना समकालीनमध्ये केही व्यस्त देखिन्छिन् ।

अर्कोतर्फ, फिल्मी पृष्ठभूमि नभएका नयाँ कलाकारहरू भने अघि बढिरहेका छन् । अनीत पड्डा, मेधा शंकर, प्रतिभा रान्ता, नितान्शी गोयल, लक्ष्य, अभय वर्मा, रोहित सराफ र स्पर्श श्रीवास्तवजस्ता कलाकारले उद्योगमा आफ्नो स्थान बनाउँदै निरन्तर काम पाइरहेका छन् ।

यो परिवर्तनले बलिउडभित्रको नयाँ प्रवृत्तिलाई देखाउँछ । दर्शक अब स्टार वा परिवारिक पृष्ठभूमिभन्दा टाढा गएर कथा र अभिनयको गुणस्तरलाई प्राथमिकता दिन थालेका छन् ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब