प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवम् जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ ।
त्रेता युगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायण लगायत वैदिक दर्शनका धर्मग्रन्थ एवम् पुराणमा वर्णन गरिएको छ । भगवान् विष्णुको छैटौँ अवतारका रूपमा अयोध्याका राजा दशरथका पुत्रका रूपकम श्रीरामको जन्म हुने भएपछि लक्ष्मी सीताका रूपकम उत्पत्ति भएको वर्णन विभिन्न ग्रन्थमा गरिएको धर्मशास्त्रविद् तोयराज नेपालले जानकारी दिए ।
सीतालाई सत्यवती, पतिव्रता एवम् आदर्श नारीका रूपमा सम्मान गरिन्छ । अयोध्याका राजा दशरथका छोरा राजकुमार रामसँग विवाह भएको थियो । पितृ आज्ञा पालना गर्न राम वनवास जाँदासँगै भएकी सीताले रावणबाट हरण हुँदा पनि पतिव्रता धर्म नत्यागेको कथा पुराणमा उल्लेख छ । रावणलगायत राक्षसमाथि विजयी प्राप्त गरी अयोध्या फर्केपछि राजा रामलाई लोकनिन्दाले काम गर्न असहज नहोस् भनी सीताले महारानीको पद त्याग गरेर गर्भिणी भएपनि वन वास हिँडेकाले आदर्श नारीका रूपकम सम्झना गरिन्छ ।
सीता उत्पत्ति भएको भए पनि आजको दिनलाई सीता जयन्तीका रूपमा देशभरका रामजानकी मन्दिरमा विशेष पूजा आराधना गरी यो पर्व मनाइन्छ । यसैगरी जनकपुरको रामजानकी मन्दिरमा विशेष पूजासहित मेला लाग्ने गरेको छ । सांस्कृतिक, धार्मिक एवम् प्राचीन ग्रन्थको पात्र सीताको योगदानलाई स्मरण गर्दै सरकारले उनलाई राष्ट्रिय विभूतिका रूपमा सम्मान दिएको छ । यसै अवसरमा आज बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर परिसरमा रहेको सीताको मूर्तिमा विशेष पूजा आराधना गरिँदै छ ।
श्रीरामचन्द्र मन्दिर व्यवस्थापन समिति यो वर्षको सीता जयन्ती मनाउन सबै तयारी भएको छ । यस अवसरमा नागार्जुन नगरपालिका–५ स्थित सीतापाइला मन्दिरमा बिहान ९ बजेदेखि विशेष पूजा आराधनाको कार्यक्रम राखिएको महेश रिमालले जानकारी दिए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved