सिराहाको गोलबजारबाट प्रहरीले कडा खालको मानिने प्रतिबन्धित लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थसहित स्थानीय एक युवकलाई पक्राउ गरेको छ ।
सिराहा प्रहरीका अनुसार ब्राउनसुगरजस्तो पदार्थ बिक्री–वितरण गरिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले गोलबजार– ६ स्थित घरबाट करिब २५ वर्षीय शेखरकुमार साहलाई पक्राउ गरेको हो।
प्रहरीले खानतलासीको क्रममा साहको घर–कोठाबाट लुकाएर राखेको ६ ग्राम ६३० मिलिग्राम र नगद ३८ हजार ३८५ रुपैयाँसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । गोलबजार प्रहरी प्रमुख प्रहरी निरीक्षक सुदन केसीका अनुसार पक्राउ गरिएका साहलाई गोलबजार प्रहरीमा राखेर थप अनुसन्धान गरिरहेको छ।
जिल्ला प्रहरी कार्यालय सिराहाको तथ्यांकअनुसार पछिल्लो चैत महिनामा मातहतका जिल्लाका विभिन्न प्रहरी युनिट र जिल्ला प्रहरीको टोलीले प्रतिबन्धित लागुऔषधसहित नौजना पक्राउ गरी ६ जनाविरुद्ध मुद्दा चलाएको छ।
पछिल्लो महिना ५० ग्राम ७२५ मिलिग्राम ब्राउनसुगर, १९ किलो १४० ग्राम गाँजा, अनरेक्स २० र पाइरोनेक्स आठ बरामद भएको प्रहरीको तथ्यांकमा उल्लेख छ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved