तराईको जलप्रणाली क्षतविक्षत

  • वैशाख १९, २०८३ | २११ पटक पढिएको | सीमा संदेश
alt

मधेशमा जलवायु परिवर्तनको प्रभाव, भू–उपयोगमा परिवर्तन र चुरे–भावर क्षेत्रको विनाशले जलसङ्कट निम्तिएको संसदीय समितिको अध्ययनले देखाएको छ । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले गरेको अध्ययनले चुरे भावर पुनर्भरण क्षेत्रमा भइरहेको वनविनाश र अनियन्त्रित बालुवा, गिट्टी उत्खननले मधेशका जलवृत्तलाई पुनर्जीवित गर्ने मुख्य प्राकृतिक प्रणालीलाई नै क्षतविक्षत बनाएको देखाएको छ । यसले गर्दा आधार बहाव कमजोर भएको र मधेशभरि पानी अभावको समस्या थप भयावह बनाएको अध्ययनको निष्कर्ष छ । 

संसदीय समितिको अध्ययनले मधेश प्रदेशमा पानीको सतहमा वार्षिक रूपमा दुईदेखि चार मिटरको गिरावट आएको देखाएको छ । दीर्घकालीन प्रवृत्तिले भने वार्षिक रूपमा करिब ०.०५ देखि ०.१० मिटरले तल झर्दै गएको छ । अध्ययन अनुसार प्रदेशभरि औसतमा ६० प्रतिशत ट्युबवेल जलसतह सक्सन लिमिटभन्दा तल गएको र भूमिगत जल भण्डारणमा अनुमानित तीन हजार ६७५ मिलियन घनमिटरले कमी आएको छ । 

समितिको प्रतिवेदनमा “गत वर्षको मनसुनमा औसतभन्दा एकतिहाइ कम वर्षा भएको छ, छोटो अवधिको मौसमी घटना मात्र नभई पुनर्भरण र निष्कासनबिचको प्रणालीगत असन्तुलनको उपज मधेशमा खडेरी देखिएको” उल्लेख छ । मधेशको जलसङ्कटबाट करिब ६१ लाख जनसङ्ख्या प्रत्यक्ष/अप्रत्यक्ष रूपमा प्रभावित भएका छन् । 

सो प्रतिवेदनको सारांश विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहीबारको बैठकमा प्रस्तुत गरिएको छ । समितिका सभापति कृष्णप्रसाद पौडेलले अध्ययन प्रतिवेदनको निष्कर्ष र सुझाव तथा सिफारिसबारे विज्ञ तथा सरोकारवाला निकायसँग छलफल गरी सरकारलाई आवश्यक निर्देशन दिने बताउनुभयो । 

सङ्कट समाधानका उपाय

अध्ययनबमोजिम सन् १९८२ मा मधेश प्रदेशका आठ जिल्लामा भूमिगत जलको अवस्था समग्रमा धनात्मक रहेकोमा हाल त्यसमा उल्लेख्य कमी आएको औँल्याइएको छ । करिब ४५ वर्षअघि दुई हजार ४३ मिलियन घनमिटर पानी निष्कासन गरिँदा तीन हजार ३६६ मिलियन घनमिटर पानी पुनर्भरण भएको थियो । वर्षाको पानी सबैभन्दा बढी भावर क्षेत्रले सञ्चित गर्दै आएकोमा उत्खनन र वन फँडानीले भावरको सो क्षमता घटेर गएको छ । भावर क्षेत्रले कुल वर्षाको ३३.६ प्रतिशत पानी सञ्चित गर्दै आएको छ । 

अध्ययनको सिफारिस

संसदीय समितिले गत वर्ष मधेशमा जलसङ्कट चरममा पुगेको बेला गरेको अध्ययनसम्बन्धी प्रतिवेदनले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा नीति निमार्ताले गर्नुपर्ने कार्य सिफारिस गरेको छ । अल्पकालीन कार्य अन्तर्गत तत्काल राहत र पुनः प्राप्ति, मध्यमकालीन कार्य अन्तर्गत वर्षाको पानी सङ्कलन र कृत्रिम पुनर्भरण आयोजनालाई व्यापक रूपमा कार्यान्वयन गर्न समितिले सुझाव दिएको छ । अर्को मनसुनसम्ममा खडेरीको उच्च जोखिममा रहेका प्रत्येक पालिकामा जमिनमुनि पानीको अन्तरप्रवेश बढाउन नमुना पुनर्भरण पोखरी निर्माण गर्न सुझाव दिएको छ ।

गत वर्ष असार अन्तिम साता मधेश प्रदेशको वीरगन्ज, जनकपुरधाम, जलेश्वरलगायतका प्रमुख सहरमा खानेपानी चरम अभाव भएको थियो । चापाकलमा पानी नआउने, मोटरपम्पले पानी नतान्ने समस्याले खानेपानी चरम अभाव भयो । वीरगन्जमा खानेपानी अभाव टार्न प्रदेश सरकारले वारुणयन्त्रमार्फत खानेपानी वितरण ग¥यो । लगत्तै विकास, आर्थिक मामिला तथा सुशासन समिति अन्तगर्तको दिगो विकास उपसमितिले ‘मधेशमा खानेपानी सरसफाइ तथा स्वच्छता’ सम्बन्धमा अध्ययन गर्न टोली परिचालन ग¥यो । संयुक्त राष्ट्रसङ्घको परियोजना सेवा कार्यालयको सहयोगमा गरिएको संसदीय अध्ययनले दीर्घकालीन समाधानका लागि पुनर्भरण क्षेत्र संरक्षण र संवर्धन गर्ने, नदीजन्य पदार्थको जथाभावी उत्खननमा प्रतिबन्ध लगाएर भावर क्षेत्रलाई कानुनी रूपमा सुरक्षित गर्न सिफारिस गरेको छ । 

त्यसै गरी औद्योगिक र कृषि क्षेत्रका ठूला उपभोक्ताका लागि औपचारिक इजाजतपत्र र मिटरिङ प्रणाली लागु गर्ने तथा कमजोर सतही भूमिगत जलबाट निर्भरता हटाई गहिरो सतहका जलाशयमा आधारित प्रशोधित पाइप प्रणालीमा रूपान्तरण गर्न सुझाव दिइएको छ । 

अध्ययनमा पानीको सतह मापन गर्न ४१ वटा ट्युबवेल सर्वेक्षण गरिएको छ । ती ट्युबवेल पूर्व–पश्चिम राजमार्गको उत्तर, मध्य तराई र दक्षिणी तराईका थिए । प्रत्येक स्थानमा कन्ट्याक्टर साउन्डर वा गहिरा टेप प्रयोग गरी जल सतहको मापन गरिएको समितिले जनाएको छ ।  आव २०७७/७८ मा सङ्घीय सरकारबाट ससर्त अनुदान अन्तगर्तका आयोजना प्रदेश सरकारलाई हस्तान्तरण गरियो । मधेश प्रदेशले सङ्घबाट ४३६ वटा खानेपानी आयोजना पाएकोमा १४९ वटा आयोजना अझै अधुरो अधुरा छन् । गोरखापत्र

छठ पर्वका अवसरमा प्रधानमन्त्री बालेन जनकपुरधाम आउ

प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ छठ पर्व ...

कोशी ब्यारेजको विकल्पमा नयाँ पुल बन्ने

कोशी ब्यारेज पुलको विकल्पका रूपमा सप्तकोशी नदीमाथि नयाँ ...

जनकपुर–अयोध्या रेल सेवा अन्तिम तयारीमा, दुवै देशका

नेपालको धार्मिकस्थल जनकपुरधामदेखि भारतको अयोध्यासम्म वि ...

कार्तिक १४ गते शनिबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक १४ गते । शनिबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब