लहानमा रहेको रामकुमार शारडा उमाप्रसाद मुरारका स्मारक अस्पतालका अध्यक्ष र निमित्त मेडिकल सुपरिटेन्डेन्टले शिलामा आफ्नो नाम राख्नैका लागि सिटिस्क्यान सेवा उद्घाटन गरेको पाइएको छ । तर, २१ वैशाखमा उद्घाटन गरेर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामनारायण मेहता र तत्कालीन निमित्त मेडिकल सुपरिटेन्डेन्ट रणजितकुमार झाको नाम लेखाइसकेपछि भोलिपल्टबाट भने सिटिस्क्यान सेवा बन्द छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत १४ चैतमा निर्णय गर्दै झालाई दरबन्दी रहेको अस्पताल (वीरमा) काज फिर्ता गरेको थियो । सिटिस्क्यान सञ्चालनका लागि जनशक्ति अभाव रहे पनि शिलामा नाम लेखाउनैका लागि उनी र अध्यक्षले सेवा उद्घाटन गरे । त्यसको भोलिपल्ट २२ वैशाखमा उनी प्रादेशिक अस्पतालबाट रमाना भएका थिए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मेहताले तत्कालीन मेसु झाबाट सिटिस्क्यान उद्घाटनको प्रस्ताव आएछि सोहीअनुसार गरिएको हो । ‘वैशाखको पहिलो साता भएको समितिको बैठकमा उहाँले उद्घाटनको प्रस्ताव ल्याएपछि मिति तय गरी निर्णय गरिएको हो,’ उनले भने, ‘निर्णयअनुसार मैले र मेसुले संयुक्त रूपमा उद्घाटन गर्यौँ । जनशक्ति अभावमा नियमित सञ्चालन गर्न सकिएको छैन । त्यसका लागि प्रदेश मन्त्रालयमा पहल गरिरहेका छौँ ।’
अधिकारकर्मी राजकुमार कुर्मीले करोडौँको उपकरण थन्क्याएर राख्नु लहान क्षेत्रका लागि दुर्भाग्यपूर्ण भएको बताए । ‘उपकरण खरिद गर्न हतार गर्ने मन्त्रालयले जनशक्ति व्यवस्थापनमा किन गम्भीरता देखाउँदैन ?’ उनले प्रश्न गरे ।
हालै जिम्मेवारी सम्हाल्न आएकी मेडिकल सुपरिटेन्डेन्ट डा. वर्षा प्रकाशले सिटिस्क्यान सञ्चालन गर्नु आफ्नो मुख्य प्राथमिकता रहेको बताइन् । ‘प्रदेशभरि नै रेडियोलोजिस्टको अभाव छ, मन्त्रालयमा ताकेता गरिरहेका छौँ, तर कर्मचारी कहिले आउँछन् भन्ने टुंगो छैन,’ उनले भनिन् ।
०८१ भदौमा तत्कालीन निमित्त मेसु डा. बृजेन्द्र साहको पालामा सिटिस्क्यान मेसिन ल्याइएको थियो । तर, रेडियोलोजिस्टसमेत रहेका साहको सरुवा भएपछि मेसिन चलेको थिएन ।
मधेश प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले १२ करोड रुपैयाँमा खरिद गरेको दुईवटा सिटिस्क्यानमध्ये एउटा लहान अस्पताललाई उपलब्ध गराएको थियो ।
अस्पतालका अध्यक्ष भन्छन्– उद्घाटन त भयो, तर चलाउने मान्छे छैनन्
अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष रामनारायण मेहताले विपन्न बिरामीको हितका लागि उपकरण जडान गरिए पनि जनशक्ति नहुँदा समस्या परेको बताए । ‘हामीले उपकरण जडानपछि उदघाटन त गर्यौँ । तर, दक्ष जनशक्ति र अन्तिम प्राविधिक निरीक्षण नहुँदा सेवा दिन सकेका छैनौँ,’ उनले भने । जनशक्ति व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयसँग समन्वय भइरहेको उनले बताए ।
हाल १५ शङ्ढयाको स्वीकृत दरबन्दी भए पनि अस्पतालले करारका कर्मचारीमार्फत सय शङ्ढयाको सेवा दिँदै आएको छ । तर, सिटिस्क्यानजस्तो संवेदनशील र प्राविधिक उपकरण सञ्चालन नहुँदा दुर्घटना, मस्तिष्कघात र गम्भीर चोटपटक लागेका बिरामी बढी मर्कामा परेका छन् । सरकारी अस्पतालमा सुलभ शुल्कमा सेवा पाउने आशामा रहेका सिराहा, सप्तरीका बिरामी महँगो शुल्क तिरेर निजी क्लिनिक र मधेश प्रदेशका विभिन्न अस्पताल जान बाध्य छन् । सरकारी अस्पतालमा तीन हजारदेखि ३५ सय रुपैयाँमा हुने सिटिस्क्यान सेवा नपाउँदा बिरामीले निजीमा दोब्बर–तेब्बर रकम तिर्नुपरेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved