गोली प्रहार र अश्रुग्यासपछि ९० लाखभन्दा बढीको फर्सीको बिउ बरामद, ६ जना घाइते

  • जेठ २८, २०८३ | ११४ पटक पढिएको | सीमा संदेश
alt

रौतहट प्रहरीले नेपाल–भारत सीमावर्ती क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनका क्रममा ९० लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध फर्सीको बिउ बरामद गरेको छ। बरामद गरिएको बिउ भारततर्फ तस्करी गर्न तयारी अवस्थामा राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार विशेष सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बुधबार साँझ बौधीमाई नगरपालिका–७ बाडका बंकुल टोलमा छापा मारेको थियो। सीमावर्ती क्षेत्र नजिक त्रिपालले छोपेर लुकाइ राखिएको अवस्थामा ठूलो परिमाणमा फर्सीको बिउ फेला परेको हो।

प्रहरीले ३२२ बोरा फर्सीको बिउ बरामद गरेको जनाएको छ। उक्त बिउको कुल तौल १२ हजार ८८० किलोग्राम रहेको र अनुमानित बजार मूल्य ९० लाख १६ हजार रुपैयाँ बराबर रहेको बताइएको छ। बरामद सामग्री आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रहरी टोलीले बिउ नियन्त्रणमा लिने क्रममा केही स्थानीय व्यक्तिले अवरोध गर्दै ढुंगामुढा गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। अवस्था नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड अश्रुग्यास प्रहार गर्नुका साथै चेतावनीस्वरूप गोलीसमेत चलाएको जनाएको छ।

ढुंगामुढा र झडपका क्रममा तीन जना स्थानीय बासिन्दा तथा तीन जना प्रहरी कर्मचारी गरी ६ जना सामान्य घाइते भएका छन्। उनीहरूको अवस्था खतरा बाहिर रहेको प्रहरीले जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिताराम रिजालले सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार रोक्न निगरानी तथा कारबाहीलाई अझ प्रभावकारी बनाइएको बताए। घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ।

यसअघि करिब एक महिनाअघि पनि भारतको घोडासहन क्षेत्रअन्तर्गत सीमा सुरक्षा बल ९एसएसबी० ले नेपालबाट तस्करी हुँदै लगिएको करिब ७० लाख रुपैयाँ मूल्य बराबरको फर्सीको बिउ बरामद गरेको थियो।

रौतहट र बाराका विभिन्न चोरनाकामार्फत चीनबाट आयात गरिएको फर्सीको बिउ भारतका विभिन्न राज्यमा तस्करी हुने गरेको सुरक्षा निकायको दाबी छ। पछिल्लो समय भारतमा फर्सीको बिउ स्वास्थ्यवर्द्धक खाद्य पदार्थ तथा डाइटका रूपमा लोकप्रिय बन्दै गएको बताइन्छ।

३६३ प्रहरी जवान सहायक हवल्दार बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको ...

जेठ ३० गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल जेठ ३० गते । शनिबार । इ ...

भारतीय सुरक्षाकर्मी सुस्ता प्रवेश गरेपछि स्थानीयको

भारतीय सीमा सुरक्षाफोर्स (एसएसबी) नेपाली भूमि सुस्तामा ...

कमला पुलको माग गर्दै मधेश प्रदेश सभाअगाडि टायर बाल

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब