मधेशमा मलको संकट

  • असार २९, २०८३ | २५३ पटक पढिएको | सीमा संदेश
alt

असारको अन्तिम सातासम्म आइपुग्दा मधेश प्रदेशका अधिकांश खेतमा धान रोपाइँ तीव्र रूपमा भइरहेको छ । मधेश प्रदेशको अधिकांश क्षेत्रमा आकाशबाट पानी परेपछि किसान धान रोपाइँमा व्यस्त देखिएका छन् । तर उनीहरूको सबैभन्दा ठूलो चिन्ता मौसम वा श्रमिक अभाव होइन—रासायनिक मलको चरम अभाव छ । कृषिप्रधान मुलुकका अन्नदाता किसानहरू यतिबेला उत्साहभन्दा बढी आक्रोश र निराशामा छन् । उनीहरूको एउटै प्रश्न छ—’हामी त खेतमा छौँ, मल चाहिँ कहाँ छ सरकार ‘

सरकारले गोदाममा पर्याप्त मल मौज्दात रहेको दाबी गरे पनि मधेशका अधिकांश किसानले खेतसम्म मल नपुगेको गुनासो गरिरहेका छन् । कृषि मन्त्रालयले देशभर ९२ हजार ५ सय ९२ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको जनाएको छ भने कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले पनि पटक–पटक मल अभाव नरहेको दाबी गर्दै आएकी छन् ।

तर सरकारी तथ्यांक र किसानको वास्तविक अवस्थाबीच ठूलो अन्तर देखिएको छ । मधेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सासहित अधिकांश जिल्लामा किसानहरू एक बोरा मलका लागि दिनौँ लाइन बस्न बाध्य छन् । प्रतिनिधिसभामा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद टेकबहादुर शाक्यले मधेश प्रदेशका किसानको पीडा सुनाउँदै सरकारलाई प्रश्न गरे, ‘हामी त खेतमा छौँ, मल चाहिँ कहाँ छ सरकार ? कि त जवाफ सिकाइदिनुपर्यो, कि त मल दिनपर्छ ।’ उनले मल अभावले किसान निराश र आक्रोशित बनेको भन्दै तत्काल वितरण व्यवस्थापन गर्न सरकारसंग माग गरे । रास्वपाकी सांसद करिश्मा कठरियाले पनि संसदमा मधेशका किसानको अवस्था उल्लेख गर्दै भनिन्, ‘तराईका जिल्लामा मलको हाहाकार यति बढेको छ कि ज्वरो आउँदा सिटामोलभन्दा पहिले मल चाहियो भन्दै किसान रुन बाध्य छन् ।’ उनले किसानको पीडा सुन्दा पनि सरकारले गोदाममा मल भएको दाबी गर्नु किसानको आँशुमाथिको राजनीति भएको टिप्पणी गरिन् ।

सप्तरीको राजविराज–१० का किसान श्यामप्रसाद यादवका अनुसार एउटा सहकारीमा जम्मा १५० बोरा मल आएको थियो, जुन स्थानीय मागको एक प्रतिशत पनि होइन । मधेशका अन्य जिल्लामा पनि अवस्था उस्तै छ । धेरै किसान रासायनिक मल नपाएर धान रोप्न बाध्य छन् भने कतिपयले भारतबाट महँगो मूल्यमा मल ल्याउने प्रयास गरिरहेका छन् । कृषि विभागका अनुसार असार २६ गतेसम्म मधेश प्रदेशमा जम्मा ३२.८ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ। यो सातै प्रदेशमध्ये दोस्रो सबैभन्दा कम प्रगति छ । मल अभाव, उन्नत बिउको कमी तथा सिँचाइ समस्याले रोपाइँको गति प्रभावित भएको कृषि क्षेत्रका जानकारहरू बताउँछन् ।

सरकारसंग मौज्दात रहेको र बाटोमा रहेको मल जोड्दा पनि बर्खे धानका लागि आवश्यक पर्ने कुल मलको एकतिहाइ मात्रै पुग्ने अवस्था रहेको कृषि क्षेत्रका जानकारहरूको भनाइ छ । बर्खे धानका लागि नेपाललाई करिब २ लाख मेट्रिक टन युरिया, १ लाख ५० हजार मेट्रिक टन डीएपी र १५ हजार मेट्रिक टन पोटास आवश्यक पर्छ । तर मौज्दात रहेको भनिएको परिमाणले त्यो आवश्यकता पूरा गर्न सक्दैन । यही कारणले किसान र सांसदहरूले सरकारको ‘पर्याप्त मल’ भन्ने दाबीमाथि प्रश्न उठाइरहेका छन् ।

मल अभावसंगै खरिद प्रक्रियामाथि पनि गम्भीर प्रश्न उठेको छ । एउटै अन्तर्राष्ट्रिय आपूर्तिकर्ताले भारतलाई कम मूल्यमा र नेपाललाई झन्डै दोब्बर मूल्यमा मल उपलब्ध गराएको विषय संसदमा समेत उठाइएको छ । सांसदहरूले कर्मचारी, व्यापारी र बिचौलियाबीच मिलेमतो भएको आशंका व्यक्त गर्दै खरिद प्रक्रिया छानबिन गर्न माग गरेका छन् । नेपालको कुल खेतीयोग्य क्षेत्रफलमध्ये ५४ प्रतिशतमा धान खेती हुने गर्छ। कृषि कुल गार्हस्थ उत्पादनमा धानको योगदान करिब १३ प्रतिशत छ ।

मधेश देशको प्रमुख अन्न उत्पादन क्षेत्र भएकाले यही प्रदेशमा मल अभाव कायम रहे यस वर्ष धान उत्पादनमा ठूलो गिरावट आउन सक्ने कृषि क्षेत्रका विज्ञहरूको चेतावनी छ ।

मिर्चैयाबाट भरुवा कन्दुक बरामद

सिरहा प्रहरीले मिर्चैयाको जङ्गलक्षेत्रबाट वेवारीसे अवस् ...

सशस्त्र प्रहरीमा खुल्यो ठूलो संख्यामा भर्ना

सशस्त्र प्रहरीले ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना खोलेक ...

आमा सुरक्षा कार्यक्रमको धज्जी उडाइयो

प्रत्येक नागरिकको स्वास्थ्य सेवामा सामान पहुँच र निशुल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब