फेरान टोरेसको अतिरिक्त समयमा गरेको निर्णायक गोलमा स्पेनले साविक विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ।
यो उपलब्धि स्पेनले पहिलो पटक विश्वकप जितेको १६ वर्ष र आठ दिनपछि आएको हो। सन् २०१० मा नेदरल्यान्ड्सविरुद्ध अतिरिक्त समयमै आन्द्रेस इनिएस्टाले गरेको गोलले स्पेनलाई पहिलो विश्वकप जिताएको थियो। यसपटक पनि अतिरिक्त समयकै गोलले स्पेनलाई विश्वविजेता बनायो।
अतिरिक्त समयको दोस्रो हाफ सुरु भएको केवल ३७ सेकेन्डमै स्पेनले निर्णायक गोल गर्यो।
पेड्रो पोरोले दिएको उत्कृष्ट क्रसमा निको विलियम्सले हेडमार्फत बल टोरेसतर्फ मिलाइदिए। त्यसपछि टोरेसले शक्तिशाली हाफ–भली प्रहार गर्दै गोलकिपर एमिलियानो मार्टिनेजलाई निरुपाय बनाए।
यो टोरेसको प्रतियोगिताकै पहिलो गोल थियो, तर त्यही गोलले स्पेनलाई विश्व च्याम्पियन बनायो। यस जितसँगै स्पेनले धेरै ऐतिहासिक उपलब्धि आफ्नो नाममा लेखाएको छ।
दोस्रो पटक विश्वकप उपाधि जित्ने राष्ट्र बन्यो। युरोपियन च्याम्पियनसिप र विश्वकप लगातार जित्ने इतिहास दोहोर्याउने पहिलो तथा एकमात्र टोली बन्यो।
एउटै विश्वकपमा केवल एक गोल मात्र व्यहोर्दै उपाधि जित्ने पहिलो टोली बन्यो।
३९ वर्षीय लियोनल मेसीको लगातार दोस्रो विश्वकप जित्ने सपना भने अधुरै रह्यो।
आठ पटकका बालोन डी’ओर विजेता मेसीले प्रतियोगिताभर आठ गोल र चार असिस्ट गरे पनि फाइनलमा स्पेनको सशक्त रक्षापङ्क्तिबीच प्रभाव जमाउन सकेनन्।
सन् २०२१ र २०२४ को कोपा अमेरिका तथा २०२२ को विश्वकप जितेको अर्जेन्टिनाले यसपटक भने प्रमुख प्रतियोगितामा पहिलो पटक उपाधिविहीन बन्नुपर्यो।
गोलकिपर एमिलियानो मार्टिनेजले ११ उत्कृष्ट बचाउ गरे पनि अर्जेन्टिनालाई ब्राजिलपछि लगातार दुई विश्वकप जित्ने पहिलो टोली बनाउने सपना पूरा हुन सकेन।
स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टे ६५ वर्षको उमेरमा विश्वकप जिताउने सबैभन्दा पाका प्रशिक्षक बने।
अन्तिम सिटी बजेलगत्तै दुवै टोलीका खेलाडीबीच केहीबेर धकेलाधकेलको अवस्था सिर्जना भए पनि स्थिति छिट्टै सामान्य बनाइएको थियो।
स्पेनका खेलाडीहरू उत्सव मनाउन व्यस्त हुँदा अधिकांश अर्जेन्टिनी खेलाडी मैदानमै बसेर हारको पीडा महसुस गरिरहेका थिए।
केहीबेरपछि भने स्पेनका खेलाडीहरूले उपविजेता पदक लिन मञ्चतर्फ जाँदै गरेका अर्जेन्टिनी खेलाडीका लागि सम्मानस्वरूप ‘गार्ड अफ अनर’ बनाएर खेलभावना प्रस्तुत गरेका थिए।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved