भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा र पारदर्शी शिक्षा प्रणालीको माग गर्दै ककरोच जनता पार्टी (सीजेपी) को नेतृत्वमा नयाँ दिल्लीको जन्तरमन्तरमा प्रदर्शन पुनः सुरु भएको छ।
संसद्तर्फको मार्चपछि दिल्ली प्रहरीले स्थानीय समय अनुसार सोमबार साँझ ५ बजेतिर जन्तरमन्तर खाली गराएको थियो। तर दिनभरको झडप, तितरबितर पार्ने प्रयास र साँझको भारी वर्षालाई बेवास्ता गर्दै मध्यरात बितिसक्दा पनि केन्द्र सरकार र शिक्षामन्त्रीविरुद्ध नाराबाजी गर्ने ठूलो भीड प्रदर्शनस्थलमा डटेर बसेको छ।
कार्यक्रमस्थलमा बिजुली नभएका कारण प्रदर्शनकारीहरूले पानीका बोतल, बिस्कुट तथा अन्य आवश्यक सामग्री बोकेर मञ्च वरिपरि मोबाइल फोनको टर्च बालेर विरोध प्रदर्शनलाई निरन्तरता दिएका छन्। उनीहरूले जानजान बिजुली काटिएको दाबी समेत गरेका छन्। सो अवसरमा सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी कर्मचारीहरू पनि परिचालन गरिएको छ।
प्रदर्शनकारीमाथि भएको लाठीचार्जको खबर सुनेपछि सोमबार दिउँसो उत्तर प्रदेशको बुलन्दशहरबाट बस चढेर आएका २१ वर्षीय आयुष कश्यपले बताए, ‘मैले किसान आन्दोलनमा भाग लिएका मेरा आमाबाबुलाई भनेको छु कि मन्त्रीले राजीनामा नदिएसम्म म घर फर्कनेछैन।’ उनले थपे, ‘मैले आवश्यक पर्ने सबै सामान- तकिया, ओछ्यानको तन्ना र टूथब्रश ल्याएको छु। म अन्त्यसम्म यहाँ बस्न तयार छु।’
विद्यार्थीहरूले ओत लाग्ने ठाउँ खोज्दै गर्दा मञ्चबाट ‘हामीलाई न्याय चाहियो’ भन्ने नारा गुञ्जिएको थियो। दिल्लीको महारानी बागमा बस्ने २३ वर्षीया आयुषी गुप्ता पानीको बोतल र बिस्कुट बोकेर उपस्थित भइन्। किरोरी मल कलेजका स्नातकोत्तर तहका विद्यार्थी धवनले भने, ‘मेरा आमाबाबु मसँगै आउनुभएको थियो तर भीडमा छुट्नुभयो। यी सबै राहत सामग्री बाँडेपछि म उहाँहरूलाई फोन गर्नेछु।’
हिलो बाटोमा हिंड्दै गर्दा धवनले दिउँसो प्रहरीले गरेको क्रूर लाठीचार्जको सामाजिक सञ्जालमा भिडियो हेरेर नै यहाँ आउने निर्णय गरेको बताइन्। उनले भनिन्, ‘पारदर्शी शिक्षा प्रणालीको माग गर्ने विद्यार्थीहरूलाई यसरी कसरी कुटपिट गर्न सकिन्छ ? मैले मेरो उमेरका एक विद्यार्थीको टाउकोबाट रगत बगिरहेको देखेँ। सरकार कसरी यस्तो हुन सक्छ ? हामीले उनीहरूलाई निर्वाचित गरेका हौं।’
धवनजस्तै धेरै युवा आफ्ना परिवारसँग आएर जनपथ नजिकै कार पार्क गरेका थिए भने कतिपयले आपसी सहयोगमा पैसा उठाएर घटनास्थलमा पुगेका थिए। उत्तर दिल्लीबाट ट्याक्सीमा आएका २० वर्षका तीन साथीहरू अमित, प्रतीक र अमनले आपसमा पैसा उठाएर आएको बताए। अमितले भने, ‘हामीले प्रत्येकले जनही २०० रुपैयाँ चन्दा उठाएर आएका हौं। हामीलाई राम्रो शिक्षा प्रणाली र थप रोजगार चाहिएको छ।’
अमनले थपे, ‘हामी सामान्यतया राति अबेरसम्म जागा बस्छौं, त्यसैले यहाँ आउने निर्णय गर्यौं। आमाबाबु चिन्तित हुने भएकाले हामी चाँडै घर फर्कन्छौं तर भोलि (आज) बस चल्दा फेरि आउनेछौं। मन्त्रीले राजीनामा दिनुपर्छ र यो सरकारले आफ्नो कमजोरी स्वीकार गर्नुपर्छ।’
सोमबार राति ११ बजेसम्म पनि सरकारविरुद्ध नारा लगाउने भीड थामिएको थिएन। सीजेपीका संस्थापक अभिजीत दीपकेले इन्डिया टुडेसँगको अन्तर्वार्तामा मंगलबार पनि संसद्तर्फ मार्च जारी रहने बताएका थिए। उनले केन्द्रीय शिक्षामन्त्री प्रधानले राजीनामा नदिएसम्म र जन्तरमन्तर नछोड्ने उल्लेख गर्दै विरोध प्रदर्शन जारी रहने स्पष्ट पारेका हुन्।
शिक्षामन्त्रीको राजीनामासहित तीन मुख्य माग राखेर सडकमा उत्रिएका प्रदर्शनकारीहरूले सोमबार संसद्तर्फ मार्च गरेका थिए। विगत १४ वर्षमा पहिलो पटक प्रदर्शनकारीहरूको भीड संसद्को ढोकासम्म पुग्न सफल भएको थियो। यसअघि सन् २०१२ मा निर्भयाको घटनाको विरोधमा मात्र यस क्षेत्रमा यति ठूलो प्रदर्शन भएको थियो।
सीजेपीका प्रवक्ता आशुतोष राँकाले भने, ‘जेपी नड्डाले हामीलाई वरिष्ठ नेतृत्वसँग कुरा गरेर जवाफ दिने आश्वासन दिनुभएको थियो तर हामीले अहिलेसम्म कुनै जवाफ पाएका छैनौं।’
केन्द्रीय स्वास्थ्यमन्त्री नड्डालाई भेटेपछि सीजेपीका मुख्य प्रवक्ता सौरभ दासले भनेका थिए, ‘हामीले हाम्रा विचारहरू प्रस्तुत गरेका छौं। अब निर्णय गर्ने काम उहाँहरूको हो। उहाँहरूले युवाहरूलाई न्याय दिनुपर्छ। यद्यपि, आज प्रहरीले देखाएको क्रूरतालाई हेर्दा मलाई खासै धेरै आशा भने छैन।’
संसद् मार्चको क्रममा भएको झडपमा ११८ भन्दा बढी दिल्ली प्रहरी र केन्द्रीय बलका कर्मचारी घाइते भएको जनाइएको छ। नयाँ दिल्लीका डीसीपी सचिन शर्माले झडपमा ५० भन्दा बढी प्रदर्शनकारी घाइते भएको जानकारी दिएका छन्।
दिल्ली प्रहरी प्रहरीका अनुसार प्रदर्शनका क्रममा ढुंगामुढा प्रहार हुँदा धेरै वरिष्ठ अधिकारीहरू पनि घाइते भएका छन्। सोमबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म चलेको प्रदर्शनको क्रममा प्रहरी र प्रदर्शनकारीबिच धेरै पटक झडप भएको थियो। भारतीय सञ्चारमाध्यमको सहयोगमा
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved