हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदन गुरुङलाई १३ बुंदे मागपत्र बुझाएका छन् ।
शनिबार अबेर रातीसम्म मागपत्रका बुंदाहरु बारे गृहमन्त्री गुरुङसहित मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादव, मधेश प्रेदशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साह, सांसद मनिष झासहित सुरक्षा निकायका पदाधिकारी र हिन्दू संघ संगठनका सदस्यहरुसंग भएको छलफल पछि गृहमन्त्रीलाई सो १३ बुंदे मागपत्र बुझाइएको छ ।
सो माग पत्र सरकारलाई बुझाएर उल्लेखित बुंदाका मागहरु पूरा गर्न पहल गरिने जनाइएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेस प्रसाद लुईटेलले माग पत्रका बुंदाहरु सुनाउँदै सम्पूर्ण आन्दोलन र विरोधका कार्यक्रमहरु फिर्ता भएको घोषणा गरेका थिए ।
तर यता, हिन्दू सम्राट सेनाले सामाजिक सञ्जालमार्फत आफूहरुले माग पत्र मात्र बुझाएको र कुनै सम्झौता भने नभएको जानकारी गराएका छन् । उनीहरुले बिरोध तथा आन्दोलनका कार्यक्रमहरु जारी रहेको बताएका छन् ।
माग पत्रमा उल्लेखित बुंदाहरु यस पकार रहेका छन् ।
सहमती भएसंगै मोर्चाले आन्दोलन तथा विरोधका सम्पूर्ण कार्यक्रमहरु फिर्ता लिएका छन् ।
यस्ता छन् सहमती भएका मागपत्रमा उल्लेखित बुँदाहरूः
१. दिगो शान्ति, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता तथा आर्थिक सहअस्तित्वको प्रवद्र्धनका लागि किराँत, बौद्ध सहित ८१.प्रतिसत हिन्दूको बहुलता भएको नेपाल राष्ट्रलाई हिन्दू राष्ट्र कायम गर्ने विषयमा स्पष्ट समयसीमा तोकी सर्वदलीय, सर्वपक्षीय छलफल प्रक्रिया अगाडि बढाउने -तीन महिनाभित्र)।
२. जुनसुकै धर्म, सम्प्रदाय वा समुदायले मनाउने चाडपर्व तथा धार्मिक अवसरहरूमा घातक हतियार प्रदर्शन गर्ने कार्यलाई नियन्त्रण गर्ने। यस्तो कार्य गर्ने व्यक्ति वा समूहलाई कानुनबमोजिम कारबाही गर्ने।
३. मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च र चर्चलगायत धार्मिक स्थलमा जडान गरिएका ठूला ध्वनि -लाउडस्पिकर) तथा ध्वनि विस्तारक उपकरणको प्रयोगलाई नियन्त्रण गर्ने। आवश्यक धार्मिक गतिविधिहरूका लागि परिसरसम्म मात्र सीमित ध्वनि प्रयोग गर्ने व्यवस्था मिलाउने।
४. मन्दिर, मस्जिद, गुम्बा, चर्च तथा अन्य धार्मिक स्थलमा रहने सम्पूर्ण व्यक्तिहरूको अभिलेखीकरण र पहिचान खुलाउने तथा विदेशी नागरिक भए नभएको अभिलेख सम्बन्धी निकायबाट गराई निगरानी र व्यवस्थापन गर्ने।
५. सामाजिक सञ्जाल वा अन्य माध्यमबाट धार्मिक, साम्प्रदायिक, जातीय हिंसा, द्वेष, चरित्र हत्या वा अनैतिक सोच फैलाउने व्यक्तिहरूको पहिचान गरी प्रचलित कानुनअनुसार कारबाही गर्ने।
६. सुनसरी देवानगञ्ज घटनापछि भएको आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिमाथि दर्ता भएका मुद्दाहरूको पुनरावलोकन गरी आवश्यक निर्णय लिने तथा सम्बन्धित व्यक्तिहरूलाई कानुनी प्रक्रियाअनुसार रिहा गर्ने।
७. आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरूको उपचार तथा आवश्यक स्वास्थ्य सेवाको व्यवस्था गर्ने।
८. धार्मिक आयोगहरूको औचित्य, आवश्यकता र कानुनी आधारहरूको पुनरावलोकन गरी खारेजीको प्रक्रिया अगाडि बढाउने।
९. आन्दोलनमा सहभागी नागरिकहरूको सुरक्षा तथा धार्मिक सुरक्षाको प्रत्याभूति नेपाल सरकारले गर्ने।
१०. २०६२/२०६३ साल देखि हाल सम्म प्रदान गरिएको नेपाली नागरिकताको सम्बन्धमा छानबिन गरि विदेशी नागरिकहरूको सम्बन्धमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने। -तीन महिनाभित्र)
११. मदरसा, मस्जिद तथा अन्य धार्मिक संस्थाहरूमा विभिन्न फण्डिङको छानबिन गरी अनुगमन तथा नियमन गरी तत्काल कारबाहीको प्रक्रिया अगाडि बढाउनु पर्ने।
१२. बाहु बलीय जघन्य अपराधको घटनामा संलग्न व्यक्तिको पहिचान गरी कानुनी कारबाही गरी पीडित लाई क्षतिपूर्ति समेत दिने।
१३. संयुक्त हिन्दू मोर्चाले आन्दोलनका सबै कार्यक्रम आजैका मितिबाट फिर्ता/स्थगित गर्ने।
सम्झौता पत्र हेर्नुस्
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved