'काग सम्मेलन गरी संसद भवन घेर्ने सोच छ'

  • कार्तिक ६, २०७९ | ४४१ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं :  रत्नपार्कस्थित शान्तिबाटिकामा १९ औँ ‘काग सम्मेलन’ गरिएको छ।

यमपञ्चकको पहिलो दिन काग तिहारका अवसरमा रत्नपार्कस्थित शान्तिबाटिकामा आज बिहान काग बोलाएर १९ औँ काग सम्मेलन गरिएको हो। सम्मेलनमा कलाकार रमेश दुलालले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पारेका थिए।

दुलालले कागको स्वर निकालेर बोलाउनु भएपछि कागहरू उनको आवाज भएको ठाउँसम्म आइपुगेका थिए। दुलालले विगत १८ वर्षदेखि काग तिहारका अवसरमा काग सम्मेलन गर्दै आएका छन्। काग तिहारको दिनमा यमराजको सन्देशवाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ। काग तिहारमा कागलाई मीठा मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ। काग सम्मेलनपछि सञ्चारकर्मीसँग कुरा गर्दै दुलालले यस वर्षको काग सम्मेलनको सन्देश ६० कटेका वृद्ध नेताहरूको बिदाई र युवाहरूलाई अवसर भन्ने रहेको बताए।

उनले आगामी वर्ष काग सम्मेलन गरेको २० वर्ष पुग्ने र सो अवसरमा टुँडिखेल वा नारायणहिटीमा ठूलो कार्यक्रम गर्ने बताए। उनले केही समयपछि काग सम्मेलन गरी सिंहदरबार र संसद भवन अवरोध गर्ने सोच रहेको बताए।

‘यसपालि बुढापाका नेताहरूलाई घरमै आराम गर्ने सन्देश दिन्छु। युवाहरूको जोश, जाँगरमा ध्यान दिनुपर्छ भन्ने सन्देश। २० वर्षमा ठूलो कार्यक्रम गर्ने सोच बनाएको छु। संसद भवन कागले अवरोध गर्ने भन्ने सोच बनाइरहेको छु। सिंहदरबार पनि घेर्ने सोच छ। अब केही समयपछि संसद भवन घेराउन गर्नुपर्छ', उनले भने।
कलाकार दुलालले काग सम्मेलनको अवसरमा काग, मयुरका स्वर निकालेर सुनाएका थिए। यमपञ्चक (तिहारको पाँच दिन) मा क्रमशः काग, कुकुर, गाई, गोरु र आफ्ना दाजुभाईको पूजा गरिन्छ। तिहार पर्व कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुल्क द्वितीया तिथिसम्म गरी पाँच दिन मनाइन्छ।

यसको शुरुवात कात्तिक कृष्ण त्रयोदशीको दिन मनाइने काग तिहारबाट हुन्छ। हिन्दु धर्मशास्त्रका अनुसार यमलोकका अधिपति यमराजले पृथ्वी लोकका मानिसहरूको जन्म मृत्युको विवरण राख्ने गर्दछन्। त्यस्तो विवरण पृथ्वीलोकमा ल्याउने र लैजाने काम भने कागले गर्छ भन्ने धार्मिक मान्यता रहेको छ।

आकाशबाट उडेर छिटो सन्देश ल्याउन लैजानसक्ने भएकाले यमराजले कागलाई आफ्नो दुत बनाएको धार्मिक विश्वास रहेको छ। त्यसैले काग तिहारको दिनमा कागलाई पूजाआजा गरेर मिठो खानेकुरा खान दिएमा यसले वर्षभर आफ्नो घरमा दुःखद् सन्देश ल्याँउदैन भन्ने विश्वास रहेको छ। यस्तै काग तिहारको दिन कागको पूजाआजा नगरेमा पापको भागी भइन्छ र मृत्युपछि नर्कमा पुगिन्छ भन्ने धार्मिक विश्वास रहेको छ।

त्यसैले काग तिहारमा कागलाई घर आँगनमा बोलाई घरमा बनेका खाद्यान्न परिकार खान दिइन्छ। यस दिनमा बिहानैदेखि कागको पूजा गरिन्छ, घरबाहिर पात या दुना, टपरीमा विभिन्न खाना राखेर कागलाई खान दिइन्छ। कागको पूजाआजा गर्दै आउँदो वर्षभर कागले आफ्नो घर आँगनमा राम्रो र सुखद् खबरमात्रै ल्याओस् भनेर कामना गरिन्छ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब