मिथिलामा ‘भैयादुज’ पर्व मनाइँदै

  • कार्तिक १०, २०७९ | ४१६ पटक पढिएको | सीमा संदेश
alt

सिरहासहित मिथिला क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौँ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा रहँदै आएको छ । 

सामान्यतया पाँच दिनको हुने यमपञ्चक यसपालि भने धनतेरस गत शनिबार नै मनाइँदा छ दिनको भएको छ । दिनमा तिथिको भोग घटबढले यसपालि छ दिनको यमपञ्चक परेको हो । भरद्वितीया, भातृद्वितीया पनि भनिने यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई घरमा निम्ता गर्छन् । यमपञ्चकमा पर्वते मूलका र मैथिल हिन्दूको पर्व मनाउने पौराणिक कथावस्तु भने एउटै पाइन्छ । अघि सत्ययुगमा राजा बलिका बहिनी गङ्गा र यमुनाले दाजुको सौर्यवृद्धि, कल्याण र दीर्घजीवनको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिएका कथा नै यो पर्वको आधार परम्परा रहँदै आएको मिथिलाका प्रसिद्ध साहित्यकार डा राजेन्द्र विमलले बताए ।

मैथिल परम्पराको ‘भैयादुज’ पर्वमा दिदीबहिनीले दाजुभाइलाई निम्ता गर्ने चलन छ ।  विवाहित दिदीबहिनीको निम्ता मान्न दाजुभाइ नयाँ वस्त्र, आभूषण कोसेली लिएर जाने गर्छन् । पर्वमा दिदीबहिनीले घरमा पिठार (पानीमा घोलिएको अरवा चामलको पिठो)ले अरिपन (चतुष्कोण घेरा) बनाएर त्यो सीमाभित्र काठको पिरामा दाजुभाइ बसाउँछन् । टाढाबाट थाकेर आएका दाजुभाइको गोडा कोपरामा राखेर तातोपानीले धुने गरिन्छ । त्यसपछि अञ्जुली फैलाएका दाजुभाइलाई पिठार, पानको पात र सुपारी राखी दिएर दिदीबहिनीले सप्तरङ्गी टीका लगाइदिने मैथिल परम्परा छ ।
 
मैथिल परम्परामा यो विधि सम्पन्न गरिएसँगै दिदीबहिनीले गङ्गा, यमुनाको जस्तै वेग र कीर्ति दाजुभाइको होस् भन्दै गीतबाट भाव व्यक्त गर्दछन् । यसैक्रममा सुकेको केराउको दाना दाजुभाइलाई चपाउन दिइन्छ ।  ‘बजरी’ ख्वाइने भनिने यो विधिमा साह्रो न साह्रो केराउलाई बज्रसँग तुलना गरेर बजरी भनिएको डा विमलको भनाइ छ । ‘बजरी’ ख्वाइने विधिको भाव भने दाजुभाइको शरीर बज्रसमान कठोर होस् भन्ने कामना रहेको डा विमलले बताए । यो विधि सकिएपछि दाजुभाइले दिदीबहिनीको आँचलमा नयाँ वस्त्र, आभूषण र नगद दक्षिणा राखी दिन्छन् । दिदीबहिनीले त्यसपछि दाजुभाइलाई मिष्टान्न भोजन गराएर पर्व सम्पन्न गर्छन् ।

मिथिलामा दाजुभाइ दिदीबहिनीबीच आपसी प्रेम सम्बन्ध प्रगाढ बढाउने तीन पर्व परम्परा चलेका छन् । साउन पूर्णिमाका दिन दाजुभाइलाई बाँधिने सप्तरङ्गी डोरा ‘राखी’ बाँधीदिने र यमपञ्चक अर्थात् तिहारको कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने भैयादुजको कथावस्तु पौराणिक गाथामा आधारित राजा बलि र उनका दिदीबहिनी गङ्गा–यमुना नै हुन् । कार्तिक शुक्ल पञ्चमीदेखि पूर्णिमासम्म मनाइने सामाचकेवा पर्व भने द्वापरयुगकालीन भगवान् श्रीकृष्णका पुत्र साम्ब र छोरी सामाबीच दाजुबहिनीको प्रेमपूर्ण स्नेह, समर्पण र त्यागको कथावस्तुमा आधारित भएको डा विमलको भनाइ छ । 

पछिल्ला वर्षहरूमा मिथिलाका मूल बासिन्दा र यहाँ बसोबास गर्न आएका अन्य जाति, धर्म, परम्परा र संस्कृतिका विभिन्न समुदायबीच सांस्कृतिक घुलमिलले चाडवाड साझा बन्दै गएका छन् । पर्वते हिन्दू परम्पराको भाइटीका र मैथिल परम्पराको भैयादुज मनाउन दिदीबहिनी र दाजुभाइ मानेर फरक–फरक परम्पराका युवापुस्ता एकसाथ पर्व मनाउन थालेका छन् । आपसी सद्भाव वृद्धि र सामाजिक, सांस्कृतिक एकताको जग मजबुत बनाउन यसले सहयोग पु¥याइरहेको पाका मैथिल बताउँछन् ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब