असार सकिन केही दिन मात्र बाँकी हुँदा देशभर ५३ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको भन्दा १२ प्रतिशत कम धान रोपाइँ भएको हो ।
अघिल्लो वर्ष सोही समयमा ६५ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो । १३ लाख ५७ हजार हेक्टरमध्ये हालसम्म सात लाख १८ हजार हेक्टर जमिनमा धान रोपाइँ भएको छ ।
अन्नको भण्डार मानिएको मधेस प्रदेश (तराई भूभाग)मा सबैभन्दा कम २८ प्रतिशत मात्र रोपाइँ भएको छ । मधेस प्रदेशमा तीन लाख ५४ हजार हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएकोमा हाल करिब एक लाख हेक्टर मात्र जमिनमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।
सबैभन्दा बढी धान रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ । उक्त प्रदेशमा ८५ प्रतिशत रोपाइँ सम्पन्न भएको हो । अघिल्लो वर्ष सुदूरपश्चिम प्रदेशमा ५७ प्रतिशत मात्र रोपाइँ भएको थियो ।
यस वर्ष मधेस प्रदेशमा ढिलो गरी मनसुन भित्रिँदा कम रोपाइँ भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सन्जेलले जानकारी दिए । उनले भने, ‘रोपाइँ जारी छ, साउनको १५–२० गतेसम्म रोपाइँ हुने हुँदा करिब ९० प्रतिशतसम्म रोपाइँ सम्पन्न हुने अपेक्षा छ ।’
कर्णाली प्रदेशमा ७० प्रतिशत, गण्डकी प्रदेशमा ४७ प्रतिशत मात्र धान रोपाइँ भएको छ । अघिल्लो वर्ष यी प्रदेशमा ७५ देखि ६५ प्रतिशतसम्म रोपाइँ भइसकेको थियो । यस वर्ष मौसम पूर्वानुमान महाशाखाले पानी कम पर्ने अनुमान गरेको छ । जसले गर्दा खाद्यसंकटको सामना गर्नुपर्ने विज्ञहरूले बताउँदै आएका छन् ।
मल अभावकै बीच रोपाइँ
किसानहरूले ५३ प्रतिशत धान रोपाइँ गर्दा मलको अभाव अहिले पनि कायमै छ । किसानहरूको संगठन किसान सञ्जालका संयोजक गणेशप्रसाद तिमल्सिनाले शुक्रबार पत्रकार सम्मेलन गर्दै किसान विनामल धान रोप्न बाध्य भएको बताए । ‘अहिले पनि किसान विनामल धान रोप्न बाध्य भए । सहकारीको डिपोमा मल छैन, किसानले पाउन सकेका छैनन्,’ उनले भने ।
कृषि मन्त्रालयका अनुसार हालसम्म ६६ हजार पाँच सय ८३ मेट्रिकटन रासायनिक मल मौज्दात रहेको छ । जसमध्ये साल्ट ट्रेडिङ कर्पोरेसनसँग ३२ हजार मेट्रिकटन रहेको छ भने कृषि सामग्री कम्पनीसँग ३३ हजार ७८ सय ४५ मेट्रिकटन मल मौज्दात छ ।

Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved