उठीबासको त्रासमा सडक छेउका मुसहर परिवार

  • भदौ १४, २०८० | ४८५ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको नेपाल-भारत सीमा क्षेत्र माडरदेखि सिरहा बजार, मिर्चैया हुँदै चोहर्वामा पूर्वपश्चिम राजमार्ग जोड्ने सडक विस्तार गर्न लागेपछि सिरहा नगरपालिका-१७ खयरटोकाकी पलासदेवीले राम्रोसँग निदाउन पाएकी छैनन् ।

उनलाई आफू र छोराहरुको परिवार बसेको घर कतिबेला भत्काइदिने हो भन्ने चिन्ताले सताएको छ । सडक विस्तार गरेर ७२ फिट बनाउने भएपछि पलासदेवीका श्रीमान गोपीले किनेको १२ धुर नम्बरी जग्गा अब केही धुर मात्र बाँकी रहनेछ ।

गोपीकी जेठी श्रीमती आनन्दीदेवी र कान्छी पलास देवीका गरी ६ जना छोरा छन् । जेठो विषुण र माइलो बद्रीबाहेक किसुन सदा, राजदेव सदा, शिव सदा र करिया सदाको स-सानो झुपडी त्यही जग्गामा छ ।

विषुण ससुराली धनुषाको भलुवाहामा बस्छन् भने बद्री ससुराली भारत विहारको मधुवनी जिल्ला कुमर खत महुलियामा । यसअघि पनि सडक बनाउँदा दुई पटक घर भत्काएको पलास देवी विगत सम्झिन्छन् । सडक विस्तार गर्दा तेस्रो पटक पनि उनीहरुको घर भत्किने स्थिति आएको हो ।

‘अहि से पहिने दुबेर सडक बनलै । दुनु बेर हमर घर टुटलै । इ तेसर बेर है’, पलास देवीले प्रश्न गरिन् ‘आब कत जेबै हम सभ? ’

जग्गा अभावकै कारण जेठो छोरा विषुण र माहिलो वद्री विहेपछि ससुरालीमै बस्न थाले । पति गोपी र उनकी जेठी पत्नी आनन्दीको मृत्यु भइसकेको छ ।

विपन्नताले उनीहरुले फुसको राम्रो घर समेत बनाउन सकेका छैनन् । वर्षायाममा पानी चुहिने उनीहरुको घरमा हिलो ओच्छ्यानसम्मै पुग्छ । हिलो पन्छाएर  जसोतसो त्यही घरमा बस्नुपर्ने बाध्यता छ ।

पालासदेवीका छोराबुहारी नाति, पनातीको दिनचर्या यही झुपडीमा बितिरहेको छ । ‘देखैछियै वर्षामे घर चुवै है । कोनो सरकार, नेता किछ नै देलकै । आब अपने से सभ पाल्सिटक किन किनक बिछौने है’ पलास देवीले भनिन् ।

सुख-दु:ख गरी बसेको यो झुपडीमा अब त्यसरी पनि बस्न नपाउने चिन्ताले उनीहरुलाई दिनरात पिरोलेको छ । ‘आब अहु मे से जाय परतै’, पलास देवीले चिन्ता व्यक्त गरिन् ।

गत वैशाख महिनामा सडक डिभिजन कार्यालय लहानले सिरहा सदरमुकाममा दुई किलोमिटर सडक विस्तारको काम थाल्ने भन्दै जग्गा नापी गरी खाली गराइदिन नगरपालिकालाई पत्राचार गरेको थियो ।

नगरपालिकाले आफ्नो क्षेत्रमा पर्ने माडरसम्मको सडक नापजाँच गरी विस्तारको लागि संरचना तथा घरटहरा हटाउन सूचना जारी गर्‍यो ।

त्यसै क्रममा ७२ फिटमा पलास देवीकाछोराका घरहरु पर्‍यो । नगरपालिकाको डोजर नै आयो । केही घरको टाट (भित्ता) तोड्यो र पछि आफैं भत्काउने शर्तमा रोकियो ।त्यतिमा अड्किएको उनको घर कुन दिन डोजरले भत्काउने ठेगान छैन ।

पलास देवीको कान्छो छोरा करिया सदाको मात्रै ६ छोराछोरी छन् । ६ महिनादेखि ११ वर्षको ६ बालबच्चालाई जनमजदुरी गरी पालिरहेका छन् । तर अब घर भत्काए कता जाने करियाकी श्रीमती निर्मला देवीले चिन्ता व्यक्त गर्छिन् ।

‘सरकारले हामीलाई कतै बसाइदिँदा हुन्थ्यो । यी स-साना छोराछोरीलाई लिएर हामी कहाँ जाने ?’ निर्मला भन्छिन् ।

पलास देवीको छोरा, नाति र पनाति गरी करिब ६० जना परिवारिक सदस्य छन् । यो चिन्ता पलास देवीको मात्र होइन । छेउमै रहेका उनको देवर ७० वर्षीय सीताराम सदाको त परिवार नै बिथोलिएको छ ।

पाँच महिना अघिसम्म सीतारामको परिवार सुखदुख चलेको थियो । चार छोराको परिवारको अलग भान्सा भए पनि एउटै घरमा बस्थे । दलित एवं विपन्न भएपनि स्थानीय गिरहतमा जन मजदुरी गरी वर्षौदेखि छोराबुहारी नातिसँगै बस्दा सीतारामलाई जीवनको उत्तरार्धमा खासै चिन्ता थिएन ।

उनले पैसा तिरेर दशकौं अघि १० धुर ऐलानी जमिन किनेका थिए । त्यसमै घर बनाएका थिए । चार छोरा, बुहारी नाति नातिनासहितको २० जनाको परिवार दुःख-सुख गरी बसिरहेको थियो । जेठमा घर भत्काउन भनेपछि उनका तीन छोरा परिवारसहित विस्थापित हुने बाध्यता आइलागेको छ ।

‘गिरहतकोमा जन बैन गरेर धेरै पहिले १० धुर घडेरी किनेको थिएँ । सडकमा पुरै गइदियो । जेठमा भत्काउन भन्यो । हतारहतार भत्काएँ, सीताराम भन्छन्, ‘सबैजनालाई बस्ने घर नै पुगेन । त्यसपछि तीनछोरा बुहारी बालबच्चा लिएर ससुराली गएर बस्न थाले ।’

आधाभन्दा बढी घर भत्काएपछि तीन छोरा ससुरालीमा बास बसिरहेका छन् । माइलो सिकिन्दर सदा पाँच सन्तानसहित ससुराली भारत बिहार मधुवनीको छतौनी बिहारमा शरण लिएका छन् ।

साइलो रासलाल श्रीमती र एक छोरीसहित ससुराली सिरहाकै बेल्हा र कान्छो मनोज सदा दुई छोराछोरीसहित भारत बिहारकै पोदमा ससुरालीमा बसिरहेका छन् ।

कहिलेकाहीँ घर आउँदा बस्ने ठाउँ नभएर पुनः ससुराली नै फर्किने गरेको दुखेसो सीताराम सुनाउँछन् । ‘बीचबीचमा उनीहरु आउँछन् । तर बस्ने घर नै पुग्दैन । अनि फेरि फर्किन्छन्’, सीताराम भन्छन् ।

सरकारले आफूहरुलाई कतै व्यवस्थापन गरेर घर भत्काउनुपर्नेमा आफूहरुलाई हेपेको उनले बताए । ‘घर भत्काउनु भन्दा पहिले सरकारले हामीलाई कतै व्यवस्थापन गरिदिनु पथ्र्यो । खैरटोकामै ३/४ विघा ऐलानी जग्गा छ । सार्वजनिक पोखरीको किनार छ । त्यसमै हामीलाई बसाइदिनुस् भनेर आग्रह गर्दा पनि मान्दैनन्’, सीताराम भन्छन्, ‘हामीलाई दलित मुसहर भनेर नै व्यवस्थापन गरिएन । किनभने पहिलेदेखि नै यहाँ तल्लो जात मुसहर छन् भनेर कथित उपल्ला जातहरुले नराम्रो दृष्टिले हेर्छन्, व्यबहार गर्ने गर्छन् । मुसहर गएकै राम्रो भनेर हामीलाई विस्थापित गर्न खोजेका छन् ।’

नगरपालिकाका मेयर डा. नविन यादवले लहान सडक डिभिजन कार्यालयको सडक विस्तारको पत्र अनुसार नापजाँच गरी सडक खाली गराउने काम भइरहेको बताए ।

उनले सुकुम्बासी मुसहर परिवारहरुलाई उचित व्यवस्थापन गरी मात्र सडक खाली गराउने दावी गरे । ‘उनीहरुको व्यवस्थापन हामी नगरपालिकाबाट गर्छौं । सुकुम्बासी आयोगसंग कुरा हुँदैछ । विभिन्न चरणमा छलफल भएको छ’, मेयर यादव भन्छन्, ‘नगरपालिकाभित्रको पर्ती ऐलानी नापी काम पनि सुरु गर्दैछौं । उनीहरुको व्यवस्थापन कतै सरकारी एलानी मै गर्नुपर्छ नि !’

गोलबजारमा आज दिनभरका लागि कर्फ्यु खुकुलो बनाइयो

जिल्ला प्रशासन कार्याल सिराहाले आज (आइतवार)  बिहान ...

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन

मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअ ...

संयुक्त हिन्दू मोर्चाले गृहमन्त्री सुदनलाई बुझायो

हिन्दूवादी संघसंगठनहरुले संयुक्त रुपमा बनाएको संयुक्त ह ...

दीपमाला ढकालले जितिन् मिस नेपाल २०२६ को उपाधि

दीपमाला ढकालले मिस नेपाल २०२६ को उपाधि जितेकी छन् । ललि ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब