काठमाडौँ । नेपालको तराई मधेस तथा भारतको बिहार, झारखण्ड र उत्तर प्रदेशको चुनावमा जातजातिको मत महत्त्वपूर्ण फ्याक्टर हुन्छ । जब चुनाव नजिकिन्छ अनि जातीय भोटको हिसाब किताब सुरु हुन्छ । जुन जातिको बाहुल्य हुन्छ, त्यही जातिको उम्मेदवार जित्ने सम्भावना प्रबल हुन्छ । २०७९ मा भएको पछिल्लो चुनावको नतिजामा पनि त्यही देखिन्छ ।
त्यसैले, हरेक पार्टीले चुनावमा आफ्नो उम्मेदवार उठाउँदा जातीय समीकरण मिलाएका हुन्छन् । जहाँ जुन जातिको बाहुल्य हुन्छ, त्यहाँ सोही जातिका उम्मेदवार उठाएका हुन्छन् । सन् २०२४ मा भारतको विहारमा लोकसभाको चुनाव हुने तयारी चलिरहेको छ । यहीबेला बिहारको नितिशकुमार सरकारले जातिगत गणना गराएको छ । बिहारको जातीय जनगणनाको परिणाम २०२४ को चुनावलाई लक्षित गरेर सार्वजनिक गरिएको छ, जसले त्यहाँको चुनावलाई प्रभावित पार्ने टिप्पणी भइरहेका छन् ।
बिहारको जातीय फ्याक्टरले त्यहाँको चुनावलाई मात्र होइन, नेपालको तराई मधेसको चुनावलाई पनि प्रभावित पार्छ । चुनावको समयमा भारतमा रहेका उम्मेदवारका आफन्तहरू पनि आएका हुन्छन् । नआए पनि आआफ्ना जातीय समूहलाई मतदानका लागि आग्रह गर्छन् । विभिन्न जातीय संगठनका प्रतिनिधिहरू पनि नेपाल आएर चुनाव प्रचारमा खटिएका हुन्छन् ।
बिहारमा हुने चुनावमा पनि नेपालका तराई मधेसबाट जातीय समूहका नेताहरू गएका हुन्छन् । नेपालबाट गएर आफन्तहरू खटिएका हुन्छन् । चुनावअघि जातीय गणना सार्वजनिक हुनुलाई बिहारका मुख्यमन्त्री नितिशकुमारको रणनीतिको रूपमा लिइएको छ ।
बिहारमा कुन जातिको सङ्ख्या कति ?
बिहारको पछिल्लो जनसङ्ख्या १३ करोड सात लाख २५ हजार ३१० रहेको छ । सबैभन्दा बढी जनसङ्ख्या मुसलमानको १७.७० प्रतिशत तथा दोस्रोमा यादवको जनसङ्ख्या १४.२६ रहेको छ । त्यस्तै, कुशवाहाको ४.२१, कुर्मीको २.८७, ब्राह्मणको ३.६५, भूमियारको २.८६, राजपुतको ३.४५, मुसहरको ३.०८, मल्लाहको २.६०, बनियाको २.३१, कायस्थको ०.६० प्रतिशत जनसङ्ख्या रहेको छ ।
यो जातीय तथ्यांकका आधारमा राष्ट्रिय जनता दलका नेता लालु यादव र उनका श्रीमती रावरी देवी यादवले १५ वर्षसम्म बिहारमाथि शासन गरे । अहिले पनि बिहारका उपमुख्यमन्त्री लालु यादवका छोरा तेजस्वी यादव छन् ।
लालु यादवले बिहारमा सबैभन्दा बढी जनसङ्ख्या रहेको यादव र मुसलमानलाई साथमा लिएर त्यहाँ शासन गरे । अहिले पनि लालु यादवका परिवारले यादव र मुसलमानलाई साथमा लिएर राजनीति गरिरहेको छ ।
तर नितिशकुमार आएपछि उनले एमवाइ समीकरण थोरै भए पनि भत्काएनन् । उनले आफ्नो जातीय समीकरण निर्माण गरेर आफ्नो शासन सत्ता कायम राखेका छन् । सन् २००५ देखि नितिशकुमार मुख्यमन्त्रीमा विराजमान छन् ।
सन् २०१३ र १४ को बिचमा एक पटक नौ महिनाका लागि मुख्यमन्त्रीबाट हटेबाहेक अहिलेसम्म उनी मुख्यमन्त्रीमा विराजमान छन् । र अहिलेको जुन जातीय गणना सार्वजनिक भएको छ त्यसले नीतिशकुमारलाई झन बलियो बनाएको विश्लेषकहरू बताउँछन् ।
नीतिशकुमारले आफ्नो शासनकालमा अति पिछडिएका समुदायलाई एक ठाउँमा ल्याएका छन् र उनीहरूलाई पहिचान दिएर आरक्षण कोटा निर्धारण गरेका छन् । ती अति पिछडिएका समुदायले नीतिकुमारको साथ छाडेका छैनन् ।
मुख्यमन्त्री नीतिशकुमारका लागि अति पिछडिएका समुदाय नै शक्ति हो । आगामी चुनावमा पनि उनी नै पुनः दोहोरिने चर्चा सुरु भएको छ । र, यो चर्चा जातीय गणनाको परिणाम आएपछि झनै बाक्लिएको छ ।
समग्रमा अति पिछडिएको समुदायको जनसङ्ख्या ३६.०१ प्रतिशत रहेको छ भने पिछडा वर्गको जनसङ्ख्या २७.१२ प्रतिशत छ । यी दुवै वर्गमाथि नीतिकुमारको पकड छ ।
नीतिकुमारले अति पिछडिएका वर्ग गठन गर्दा त्यसमा लोहार (लोहाको काम गर्ने), कुम्हार (माटोको भाँडो बनाउने), बढइ (सिकर्मी), कहार (बेहुला–बेहुली बोक्ने), सोनारलगायत ११४ जातिलाई त्यसमा राखेका छन् ।
मधेसमा के छ ?
यता नेपालको मधेसमा ७० भन्दा बढी जातजाति छन् । त्यसमध्ये सबभन्दा बढी जनसङ्ख्या दलित समुदायको रहेको छ । दोस्रो स्थानमा यादव जातिको जनसङ्ख्या १४ प्रतिशत र तेस्रो स्थानमा मुसलमानको जनसङ्ख्या १२ प्रतिशतभन्दा बढी छ ।
मधेसमा दलितको जनसङ्ख्या बढी भएपनि राजनीतिक रूपमा बाहिर आएका छैनन् । जसरी बिहारमा लालु यादवले अति पिछडिएका तथा दलितहरुलाई ओझेलमा राखेर अगाडि बढ्न दिएनन्, त्यसरी नै मधेसमा उच्च जातिले दलित तथा पिछडिएकालाई अगाडि बढ्न दिएनन् ।
ती जातिहरु शैक्षिक, राजनीतिक, आर्थिक, सामाजिक रूपमा पछाडि परेका छन् । तराई मधेसमा उनीहरु केवल भोटर मात्र छन् । खास गरी मधेस प्रदेशमा यादव जातिको बर्चस्व छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव राजनीतिमा आएपछि यादवहरु झनै अगाडि आएका छन् ।
बिहारका लालु यादवझैँ उपेन्द्र यादवले पनि मधेस प्रदेशमा यादव र मुसलमान समिकरणका राजनीतिलाई अगाडि बढाएका छन् । त्यही कारणले उनले मुसलमानको मत तान्न मधेस प्रदेशको पहिलो मुख्यमन्त्री मुसलमान समुदायबाट लालबाबु राउतलाई बनाए । केन्द्रमा पनि इस्तियाक रायलाई हरेक मन्त्रीमण्डलमा मन्त्री बनाए । समानुपातिकमा पनि उनले मुसलमानलाई विशेष ग्राह्यता दिदै राष्ट्रिय सभामा पनि एकजना मुसलमान सांसद ल्याएका छन् ।
अर्कोतर्फ उच्च जातिको प्रतिनिधित्व गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले राजनीतिलाई अगाडि बढाएका छन् । उनले प्रायः ब्राह्मण जातिलाई आफ्नो साथमा लिएर अगाडि बढिरहेका छन् ।
तर, लोसपाकै वरिष्ठ नेता राजेन्द्र महतोले अन्य जात साह, कानु, कलवारलगायतका जात जसलाई पंचपनिया (पाँच वर्ण) भन्छन्, तिनलाई साथमा लिएर राजनीति अगाडि बढाएका छन् ।
नयाँ शक्तिको रूपमा उदाएका जनमत पार्टीका अध्यक्ष सिके राउतले पनि उपेन्द्र यादवको समीकरण एमवाइलाई कमजोर गर्नका लागि पिछडिएका, अति पिछडिएका जातजातिलाई संगठित गरेर अगाडि बढिरहेका छन् ।
जसरी बिहारमा नीतिशकुमारले लालु यादवको समीकरण तोडे, त्यसरी नै मधेसमा सिके राउतले उपेन्द्र यादवको समीकरण भत्काउनमा लागेका छन् । त्यसमा कतै न कतै राजेन्द्र महतो र प्रभु साहले पनि साथ दिइरहेका छन् ।
आगामी चुनावमा जसरी बिहारको जातिगत गणनालाई गेमचेन्जरका रूपमा लिइएको छ, त्यसरी नै २०८४ मा मधेसमा पनि जातीय रूपमा चुनावमा गेमचेन्जर हुने सम्भावना रहेको विश्लेषण भइरहेको छ ।
नेपालको सम्पूर्ण जनसङ्ख्यामा देशभर मुसलमानको जनसङ्ख्या ४.८६ प्रतिशत रहेको छ भने यादवको जनसङ्ख्या ४.२१ प्रतिशत रहेको छ । ब्राह्मण (तराई) ०.७५ प्रतिशत मात्र रहेका छन् । बरु तेलीको जनसङ्ख्या १.४८, चमार १.३५, कोइरी १.२२, कुर्मी ०.९५, मुसहर ०.९१, धानुक र दुसाधको ०.८६ प्रतिशत जनसङ्ख्या रहेको छ । तर, यी समुदाय राजनीतिक रूपमा कहीँ छैनन् ।
तर, केवल ०.७५ प्रतिशतको संख्यामा रहेका ब्राह्मणहरुकै तराई मधेसको राजनीतिमा हालिमुहाली छ । यहाँसम्म कि महन्थ ठाकुरले एउटा सिंगै पार्टी नै चलाइरहेका छन् ।
ब्राह्मणभन्दा बढी जनसङ्ख्या रहेको तेली, सुँडी समुदायका नेता राजेन्द्र महतो महन्थ ठाकुरको नेतृत्व स्वीकार गरेर राजनीति गरिरहेका छन् । अर्थात् मधेसमा उच्च जातिले साना जातिमाथि शासन गरेर राजनीतिमा अगाडि बढेका छन् भने यादव र मुसलमानले आफ्नो जातीय सङ्ख्याका आधारमा शासन गरिरहेका छन् ।
तर अगामी चुनावका लागि साना जातजाति, पिछडिएका समुदायहरु पनि संगठित हुँदैछन् । ती समुदायलाई नेतृत्व गर्ने नेता पनि फिल्डमा उत्रिई सकेका छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved