उपचारको ११ लाख ७० हजार तिर्न नसक्दा महिलाको शव तीन दिनदेखि अस्पतालमै

  • जेठ ७, २०८१ | २८५ पटक पढिएको | सीमा संदेश
alt

उपचारको ११ लाख ७० हजार रुपैयाँ परिवारले तिर्न नसक्दा विराटनगरको विराट नर्सिङ होमले दलित महिलाको शव तीन दिनदेखि बन्धक बनाएको छ । सप्तरीको बलानबिहुल गाउँपालिका– २ की ४२ वर्षीया श्यामकुमारी रामको गत बिहीबार (३ जेठ) उपचारका क्रममा निधन भएको थियो । उनको उपचारमा २० लाख ६९ हजार बिल उठेकोमा परिवारले आठ लाख ९९ हजार तिरे पनि बाँकी रकम बुझाउन नसक्दा अस्पतालले शव उठाउन नदिएको हो ।

मृतकका श्रीमान् उमेश रामका अनुसार अस्पतालको १२ लाख ६९ हजारमध्ये तीन लाख ७४ हजार तिरे पनि आठ लाख ९५ हजार तिर्न बाँकी छ । त्यस्तै, फार्मेसीको आठ लाखमध्ये पाँच लाख २५ हजार बुझाएकोमा दुई लाख ७५ हजार तिर्न बाँकी नै छ । घरछेउकै एक कट्ठा जग्गा तीन लाखमा बेचेर तथा साहुकारबाट ३६ प्रतिशत ब्याजदरमा पाँच लाख ऋण लिएर अस्पताल र फार्मेसीलाई पैसा तिरे पनि बाँकी पैसा जोहो गर्न नसकेको उमेशले बताए । 

‘भएको सम्पत्ति उपचारमै सकियो, जग्गा बेचेर र ऋण–धन गरेर आठ लाख ९९ हजार बुझाइयो, बाँकी तिर्न सकिएको छैन,’ उनले भने, ‘पैसा आउने ठाउँ छैन, अस्पताल र फार्मेसी दुवैले पहिले उपचारको सबै पैसा बुझाऊ अनि मात्र शव दिन्छौँ भन्दै छन् । उता घरमा सबै शव आउने आशामा बसेका छन् ।’ 

५ चैतमा स १ त ३२८ नम्बरको ट्याक्टरले सप्तरीको बोदेबरसाइन नगरपालिका– १ मा  ठक्कर दिएपछि श्यामकुमारी घाइते भएकी थिइन् । उनलाई सुरुमा बोदेबरसाइनमा रहेको सत्रुधन अस्पतालमा लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि सोही दिन विराट नर्सिङ होममा लगिएको थियो । तर, उपचारको क्रममा गत बिहीबार निधन भएको थियो । 

विराट नर्सिङ होमका प्रशासन अधिकृत केदार पोखरेलले उपचारका क्रममा लागेकोे खर्च नबुझाएसम्म शव पठाउन नसकिने बताए । ‘अस्पताल चलाउन पनि धेरै खर्च हुन्छ । सबै बिरामीको निःशुल्क उपचार गर्दै जाने हो भने कहाँबाट अस्पताल चल्छ,’ उनले भने । औषधिबाहेक श्यामकुमारीको उपचारका क्रममा १२ लाखभन्दा बढी लागेको र त्यसमध्ये आठ लाख ७० हजार तिर्न बाँकी रहेको उनले बताए । ‘थोरै पैसा भए अस्पतालले पनि हेर्न सक्थ्यो होला,’ उनले भने, ‘बरु उपचारमा छुट हुन्छ, तर निःशुल्क गर्न सकिँदैन । हाम्रो पनि समस्या छ,’ उनले भने । तर, मृतकका परिवारले पछि चुक्ता गर्ने गरी कागज गरेर काजकिरियाका लागि शव दिन अनुनय गरिरहेको छ । ‘कतै ऋण पाए ल्याएर दिने सहमतिमा कागज गरेर श्रीमतिको शव लैजान दिए अन्तिम संस्कार गर्न हुन्थ्यो,’ मृतकका श्रीमान् उमेशले भने । 

इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक लिलम उप्रेतीका अनुसार श्यामकुमारीलाई ठक्कर दिने ट्याक्टरका चालक श्रवण सदाय पुर्पक्षका लागि थुनामा छन् । जिल्ला अदालत सप्तरीले उनलाई ४ वैशाखमा पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो । ट्याक्टर मालिक बलराम साहले सुरुमा एक लाख रुपैयाँ उपचारका लागि दिएका थिए । त्यसपछि उनी फरार रहेकाले उपचार खर्च तिर्ने सहमति नभएको प्रहरी निरीक्षक उप्रेतीले बताए । श्रीमती दुर्घटनामा परेका वेला उमेश वैदेशिक रोजगारीका क्रममा कतारमा थिए । उमेशका दुई छोरी र एक छोरा छन् । 

मृतकका श्रीमान् उमेश राम भन्छन्–पैसा आउने ठाउँ छैन, अस्पताल र फार्मेसी दुवैले पहिले उपचारको सबै पैसा बुझाऊ अनि मात्र शव दिन्छौँ भन्दै छन्
विराट नर्सिङ होमको १२ लाख ६९ हजारमध्ये तीन लाख ७४ हजार तिरे पनि आठ लाख ९५ हजार तिर्न बाँकी छ । फार्मेसीको आठ लाखमध्ये पाँच लाख २५ हजार बुझायौँ, दुई लाख ७५ हजार तिर्न बाँकी नै छ । घरछेउकै एक कट्ठा जग्गा तीन लाखमा बेचेर तथा साहुकारबाट ३६ प्रतिशत ब्याजदरमा पाँच लाख ऋण लिएर अस्पताल र फार्मेसीलाई पैसा तिरे पनि बाँकी पैसा जोहो गर्न सकेका छैनौँ ।

अस्पताल र फार्मेसी दुवैले पहिले उपचारको सबै पैसा बुझाऊ अनि मात्र शव दिन्छौँ भन्दै छन् । उता घरमा सबै भोकभोकै छन्, शव आउने आसमा बसेका छन् । पैसा आउने ठाउँ छैन, कतै ऋण पाए ल्याएर दिने सहमतिमा कागज गरेर श्रीमतीको शव लैजान दिए अन्तिम संस्कार गर्न हुन्थ्यो ।

सोमबारसम्म शव नदिए अस्पतालमा धर्ना दिन्छु 
खेमचन्द्र यादव, अध्यक्ष, बलानबिहुल गाउँपालिका

यसबारे अस्पताल प्रशासनसँग कुरा गरेको छु । उहाँहरूले पैसा नदिई शव दिन नसकिने बताउनुभएको छ । स्वास्थ्य त नैसर्गिक अधिकार हो । सोमबारसम्म शव नदिए अस्पतालमै धर्ना दिन्छु । शव फिर्ता ल्याउछौँ ।

‘ठूला माछा’माथि अख्तियारको प्रहार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रविधि खरि ...

५ लाख ७० हजार घुससहित इन्जिनियर पक्राउ

सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर घुससहित पक् ...

जेठ २ गते शुक्रबार, यस्ताे छ तपाईँकाे राशिफल

आज विक्रम संवत २०८२ साल जेष्ठ २ गते, शुक्रबार । ईश्वी स ...

सीमावर्ती क्षेत्रमा अपरिचित समूहको संदिग्ध सक्रियत

हिन्दुस्तान– पाकिस्तानबीचको तनाव युद्धविराम भएलगत ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब