देवतालाई आराम दिन एक महिना गाउँ छाड्ने चलन

  • असार २९, २०८१ | ५२३ पटक पढिएको | सीमा संदेश
alt

खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा पर्ने दिङ्बोचेका गाउँलेले यसवर्ष पनि एक महिनाका लागि गाउँ छाडेका छन् । गाउँ छोड्ने परम्परालाई यहाँका स्थानीय शेर्पा समुदायले ‘डिइ’ भन्ने गर्छन् । बौद्ध परम्पराअनुसार एक महिना देवतालाईसमेत् आराम दिन, गाउँ शान्त बनाउन गाउँ छोड्नुपर्ने मान्यता यहाँको शेर्पा समुदायमा छ । 

दिङ्बोचे समुन्द्री सतहबाट चार हजार चार सय १० मिटरको उचाइमा पर्दछ । विश्वकै आकर्षक हिमाल आमादब्लमको काखमा अवस्थित दिङबोचे हुँदै सगरमाथा जानुपर्ने भएकाले यस गाउँको आफ्नै पहिचान छ । यहाँ ६० घर शेर्पा समुदाय बस्छन् । जसमा ३० वटा जति होटल तथा लज  छन् । गाउँलेको मुख्य पेसा होटल व्यवसाय हो । केहीले पशुपालन तथा खेती गर्छन् । 

असार–साउन महिनामा पर्ने गरी बर्सेनि एकपटक ‘डिइ’ बार्ने यहाँका शेर्पाहरुको संस्कार हो । यो चलन निकै प्राचीन भएको खुम्बु पासाङल्हामु गाउँपालिका–४ का वडा सदस्य पासाङ नुरु शेर्पाले बताउनुभयो । ‘डिइ’ भनेको यहाँको समुदायको संस्कारअनुसार करिब एक महिनाभर घरमा ताला लगाउने र मानिसहरु सबैले गाउँ छोड्नु पर्छ ।

उनीहरुले बौद्ध धर्म गुरु अर्थात् लामा पुरोहितलाई साइत हेराएर बौद्ध परम्पराअनुसार पूजापाठ गराएर गाउँ छाड्ने गर्छन् । पर्यटनका लागि ‘अफ–सिजन’ भएकाले पनि एक महिनाभर अन्यत्र बसाइँ जाने चलन रहेको स्थानीय बताउँछन् ।

गाउँ छोड्नुअघि गाउँलेले स्थानीय गुम्बामा गएर बौद्ध परम्पराअनुसार पूजापाठ गर्ने र लामाबाट प्रसाद ग्रहण ग्रहण गर्ने चलन छ । यसो गर्दा पशुपालन र खेती फस्टाउने जनविश्वास छ । अधिकांश दिङबोचेवासीको घर पाङ्बोचे, खुम्जुङ, नाम्चे, लुक्लालगायत क्षेत्रमा पनि रहेकाले उनीहरु दिङ्बोचे छाडेपछि त्यता जाने स्थानीय बताउँछन् । डिइ अवधिमा उनीहरु वस्तुभाउसमेत् लिएर अन्यत्र सर्ने गर्छन् ।

पर्यटकीय रुपले अफसिजन भएकाले कतिपय काठमाण्डौ, पोखरा, भारतको बोधगयालगायतका स्थानमा घुम्न निस्किएका छन् । डिइको प्रचलन दिङ्बोचेबाहेक खुम्बुको अन्य ठाउँमा नरहेको नाम्चेका लामाकाजी शेर्पाले बताउनुभयो । करिब चार सय जनसङ्ख्या रहेको उक्त गाउँ एक महिनाका लागि सुनसान भएको छ । ‘डिइ’को अवधिमा कुनै पनि मानिसहरु घर तथा बारीमा जान नमिल्ने वडा सदस्य शेर्पाको भनाइ छ ।

‘डिइ’ का लागि उर्दी गर्न समुदायले वर्षैपिच्छे दुईजना व्यक्ति शेर्पा भाषामा ‘नवा’ चुन्ने चलन छ । गाउँलेबाट चुनिने ती व्यक्ति (नवा)ले कहिलेबाट गाउँ छोड्ने कहिले प्रवेश गर्ने, कहिलेबाट घरमा आगो बाल्न पाउने, कहिले बारीमा पस्ने जस्ता कुराहरुको उर्दी गर्ने गर्छ । नवाले हरेक कुरा लामा गुरुहरुसँग समन्वय गर्ने भएकाले सबै गाउँलेले मान्नुपर्ने चलन छ । 

यस वर्ष पनि असार २६ गतेदेखि पूजापाठ गरेर सबैले गाउँ छाडेको स्थानीय पासाङ शेर्पाले जानकारी दिनुभयो । यदि संस्कार तोडेमा अनिष्ट हुने, गाउँमा मानिसहरुको ज्यान जाने, बाढी आउने, बालीनाली बिग्रन्छ भन्नेजस्ता मान्यता छ । 

यसअवधिमा  दिङ्बोचे प्रहरी चौकीका प्रहरीसमेत नाम्चे सरेका छन् । एक महिनाभर गाउँमा मानिस नहुने भएपछि प्रहरी चौकी सर्नु परेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताउनुभयो ।

यो चलनलाई कतिपयले रूढीवादीको संज्ञा दिने गरेका छन् । यो समयमा फुर्सद हुने भएकाले भ्रमण तथा रमाइलो गर्न विगतमा गाउँ छाड्ने चलन थियो । बिस्तारै यसलाई संस्कारका रुपमा विकास गर्दै लगिएको छिमेकी गाउँका स्थानीय बताउँछन् । आरोहण तथा पदयात्रायाममा सगरमाथा क्षेत्र जाने पर्यटकले यहाँका होटलहरु भरिभराउ हुने गर्छन् । पदयात्रीहरु लेक पचाउन दिङबोचेमा दुई रात बिताउने गर्दछन् ।

 

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब