सुटकेशमा फेला परेको रुबीको शव : घटना रहस्यमय, प्रहरी अनुसन्धान गर्दै

  • भदौ ९, २०८२ | ६१८ पटक पढिएको | सीमा संदेश
alt

रौतहटको गौर नागरपालिका–९ स्थित गौर– सिरसिया सडक खण्डमा सुटकेसभित्र मृत अवस्थामा फेला परेकी एकजना महिलाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीका अनुसार मुठवलबा गेटतर्फ मृत भेटिएकी महिलाको शव गौर नगरपालिका–२ मा बस्दै आएकी करिब २६ वर्षीय रुबी देवी साह सुडीको रहेको छ ।

माधवनारायण नगरपालिका–६ माइती भएकी रुबीको भारतमा विवाह भए पनि उनी ४ वर्षीय छोरा पढाउन गौर नगरपालिका–२ स्थित महादेवपट्टिमा डेरामा बस्दै आएकी थिइन् । सुटकेशमा कुइनो र घुँडा जोडेर प्याक गरेको अवस्थामा शव फेला परेको थियो । रौतहट प्रहरीकाका प्रवक्ता एवं प्रहरी उपरीक्षक (डीएसपी) राजु कार्कीले घटनाको सूक्ष्म अनुसन्धान भइरहेको बताए ।

नाकबाट रगत बगे पनि उनको शरीरमा कुनै चोटपटक नदेखिएको डीएसपी कार्कीले बताए । मृतकका परिवार प्रहरीको सम्पर्कमा आएका छन् । उनका श्रीमान् शिवसागर साह भारत बिहारको मुजफ्फरपुरबाट रौतहट आएको डीएसपी कार्कीले बताए । उनले आफू र रुबीबीच कुनै पनि घरायसी लगायत अन्य समस्या नरहेको प्रहरीलाई जानकारी दिएका छन् ।

उनले भने, ‘अहिलेसम्म मृतकको पहिचान खुलाउने काम भयो, उनी चार वर्षीय छोरा पढाउन छुट्टै डेरा लिएर बसेको देखियो, रुबीका श्रीमान पनि हाम्रो सम्पर्कमा आइसकेका छन् । त्यस्तो पारिवारिक समस्या केही नभएको उनका श्रीमानले हामीलाई बताएका छन् ।’ रुबी दुई दिनदेखि बेपत्ता भएपछि आमाले प्रहरीमा खोजीका लागि निवेदन दिएकी थिइन् ।

शनिबार साँझ बजार जान भनेर डेराबाट निस्केकी रुबीको शव राति सुटकेसभित्र फेला परेको थियो । साँझ करिब ६ बजेतिर आमा मिथिलादेवी साहलाई रुबीले अन्तिम पटक फोन गरेकी थिइन् । त्यसपछि रुबी फर्किइनन् । छोरी नफर्किएपछि आफू रातभर नसुतेको आमा मिथिलाले बताइन् ।

रुबीको मोबाइल घटनास्थलमा फेला परेको छैन । राति बाटोमा बेवारिसे सुटकेस देखेपछि प्रहरीले खबर गरेका थिए । तर शंकास्पद देखेपछि प्रहरीले सुटकेस खोलेनन् । आइतबार बिहान नेपाली सेनाको डिस्पोजल टोलीले उक्त सुटकेस खोल्दा रुबीको शव भेटिएको थियो । श्रीमान् शिवसागरले प्रहरीलाई जनाएअनुसार रुबी आइतबार नै मुजफ्फरपुर आउने कुरा थियो ।

साहसित अहिले पनि सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजु कार्कीले बताए । उनले भने, ‘हामी अनुसन्धानमा लागेका छौँ । श्रीमान्सँग सोधपुछ गर्दैछौँ, घटना रहस्यमय छ । हामी पत्ता लगाउँछौँ ।’ सुटकेसभित्र रुबीको शव खुम्च्याएर राखिएको अवस्थामा भेटिएपछि प्रहरी आश्चर्यमा परेको छ । प्रहरीले बिहानदेखि वरपरको सीसी क्यामेरा फुटेज र मोबाइल लोकेसनको आधारमा अनुसन्धान अघि बढाएको जनाएको छ ।

सडक छेउमा ठूलो निलो रङको सुटकेसलाई बाहिरबाट डोरीले बाँधिएको अवस्थामा फेला परेको थियो । रातिको समयमा शंकास्पद सुटकेस भएकाले सुरक्षा मात्रै दिएर राखेको डीएसपी कार्कीले बताए । प्रहरीका अनुसार सुटकेसभित्र रुबीको खुट्टा दोबारेर राखिएको थियो ।

शरीरका कुनै भागमा पनि चोटपटक लागेको छैन । नाकमा थोरै रगत बगेजस्तो अवस्थामा हातखुट्टा खुम्च्याएर प्याक गरिएको अवस्थामा शव भेटिएको थियो । भारतको मुजफ्फरपुर जिल्लाको रुक्साटोलका साहसित रुबीको ५ वर्षअघि विवाह भएको थियो । डीएसपी कार्कीका अनुसार उनी पछिल्लो समय गौर स्थित माधवपट्टीमा डेरा गरेर बस्दै आएकी थिइन् ।

गौर बजारबाट उनको डेरा करिब एक किलोमिटर टाढा पर्छ । रुबी, आमा र ४ वर्षीय छोरासँगै डेरामा बस्थिन् । छोराको पढाइले गर्दा गौरमा डेरा लिएर बसेको माइती पक्षको भनाइ छ । रुबीको शव भेटिएको ठाउँबाट डेराको दूरी करिब ५ किलोमिटर रहेको छ । नेपाल–भारत सीमा भएकाले भारत लगेर हत्या गरी नेपालमा शव फालिएको हुनसक्ने आशंका रौतहट प्रहरीले गरेको छ ।

प्रहरीले कपडासहितको रुबीको शव भेटिए पनि उनले प्रयोग गर्ने मोबाइल भने फेला परेको छैन । हत्यापछि मोबाइल लगेको वा कतै नष्ट गरेको हुनसक्ने अनुमान गरिएको छ ।

यता सुटकेस कसको घरमा थियो भन्नेबारे पनि प्रहरीले सूक्ष्म ढंगले अनुसन्धान अघि बढाएको भन्दै मधेश प्रदेका डीआईजी उमाप्रसाद चर्तुवेदीले अनुसन्धानलाई उच्च प्राथमिकता दिँदै विभिन्न कोणबाट अनुसन्धान भइरहेको बताए ।

भारत जाँदै प्रधानमन्त्री बालेन : जनकपुरधाम– अयोध्य

प्रधानमन्त्री बालेन्द्र (बालेन) साह आगामी नोभेम्बरमा भा ...

प्रदेशलाई साक्षर बनाउने निर्देशिका स्वीकृत : भत्त

मधेश प्रदेश सरकारले प्रदेशलाई चालु आर्थिक वर्षमै साक्षर ...

डोल्पामा सीता एयर दुर्घटना

डोल्पाको जुफाल एयरपोर्टमा अवतरणको क्रममा सीता एयरको जहा ...

असोज ८ गते बिहीबार , यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब