सोमबार काठमाडौंमा जेनजी पुस्ताले प्रदर्शन गर्दैछन्। सोमबार बिहान ९ बजेदेखि जेनजी पुस्ताले प्रदर्शन गर्न लागेका हुन्।
प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट युवाहरुले अनुमति लिइसकेका छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी छवि रिजालले भने, ‘निषेधित क्षेत्र बाहेकका ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्नलाई रोकेको छैन।’
जेनजी पुस्ता भनेको सन् १९९७ देखि २०१२ भित्र जन्मिएका युवा हुन्। उनीहरुले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध प्रदर्शन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका थिए।
जेनजी पुस्ताले माइतीघरमा सोमबार बिहान ९ बजेतिर भेला हुने र ११ बजेतिर मार्चपास गर्दै बानेश्वरसम्म पुग्ने कार्यक्रम राखेका छन्।
जेनजी पुस्ताको आन्दोलनलाई जनप्रतिनिधि र नेताले समर्थन गरेका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कार्यक्रममा आफ्नो समर्थन रहेको उल्लेख गरेका छन्। कांग्रेस नेता शेखर कोइरालालेसमेत यो आन्दोलन जायज भएको बताएका छन्।
साथै देशका विभिन्न सहरहरुमासमेत जेन जी पुस्ताले सरकारलाई ध्यानाकर्षण गराउन एक जुट हुन सामाजिक सञ्जालमार्फत आवहन गरेका छन् ।
अहिलेको पुस्ता प्रविधिमा अब्बल छ । एआई प्रयोगमा पनि यो पुस्ता अभ्यस्त छ । आफ्नो यही खुबी प्रयोग गरेर उनीहरू सामाजिक सञ्जालमा करिअर बनाइरहेका छन् । कोही आईटी विज्ञको रूपमा काम गरिरहेका छन् त कोही ‘ह्वाइट ह्याट’ (कानूनको अधीनमा रहेर काम गर्ने ह्याकरहरू) बनेर नेपालबाटै लाखौं कमाइरहेका छन् । फेसबुक, इन्स्टा, एक्सजस्ता सामाजिक सञ्जालको लुपहोलहरू पत्ता लगाएर उक्त कम्पनीलाई जानकारी दिएर लाखौं रूपैयाँ रिवार्ड लिने पुस्ता हो यो ।
यो अभियानमा सक्रियरूपमा लागेका अर्का सदस्य अभिजीत अधिकारीका अनुसार सरकारको निर्णयपछि उनीहरू रेडिक्ट, डिस्कोर्ड, जुम, भाइबरजस्ता सामाजिक सञ्जालमा सक्रिय हुन थाले । त्यहाँ आफ्ना असन्तुष्टिहरू पोख्न थाले । परिणामतः एउटा समूह जन्मियो, आर सोसल । त्यो समूहमा आदित्य, अभिजितजस्ता हजारौं युवाहरू जोडिए ।
‘सरकारले फेसबुक, इन्स्टाजस्ता एपहरू निष्क्रिय पार्यो । सरकारको निर्णयले हामीलाई जेन जेडलाई आक्रोशित बनायो,’ अभीजितले भने, ‘त्यसपछि रेडिक्टमा सबैभन्दा पहिला यो मुद्दा उठ्यो । विस्तारै डिडस्कोर्ड, जुमतिर फैलियो । सरकारले नै थाहा नपाएको एपहरूमार्फत् हामी संगठित बन्यौं ।’
यो आन्दोलन सम्पूर्ण युवाहरूको भविष्यका लागि भएकाले यहाँ जो पनि सहभागी हुन सक्ने आदित्यले बताए । उनले भने, ‘यहाँ को आउने र को नआउने भन्ने छैन । यहाँ सत्तारुढ दल कांग्रेस र एमालेका असन्तुष्ट पक्षका युवाहरू आउन सक्नुहुन्छ । यहाँ राजावादी युवाहरू आउन सक्नुहुन्छ । तर, राजा चाहियो भन्ने आन्दोलन यहाँ हुँदैन ।’
त्यसो त आदित्य स्वयं पनि विवेकशील साझा युवा संगठनका केन्द्रीय सदस्य हुन् । सरकारले सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णय गरेपछि आदित्यकै संयोजकत्वमा एक विज्ञप्ति जारी गर्दै विवेकशील साझा युवा संगठनले विरोध जनाएको थियो ।
तर, भोलिको आन्दोलनमा आयोजक यही संस्था हो वा नेतृत्व यसले नै गर्ने भनेर अहिलेसम्म नतोकिएको आदित्यले बताए । यहाँ आयोजक भनेकै सम्पूर्ण जेन जेड पुस्ता र नेतृत्व पनि सम्पूर्ण जेन जेडले नै गर्ने उनले बताए ।
अभीजितले थपे, ‘यो आन्दोलन कसैलाई नेता बनाउनलाई नै भएको होइन । यो त स्वतस्फूर्त रूपमा भएको हो । यहाँ मुख्य रूपमा हाम्रो माग मात्रै केन्द्रमा रहन्छ । त्यसैले हामीले संयोजकसमेत तोकेका छैनौं ।’
अहिले टिकटकमा नेताका छोराछोरी र आफन्तको विलासी जीवनशैलीलाई एक्सपोज गर्ने अभियान समेत चलिरहेको छ । इन्डोनेसियाबाट सुरू भएको यो अभियान अहिले नेपालमा आइपुगेको हो । हाइप्रोफाइल नेता र कर्मचारीहरूका सन्तानका विलासी जीवनशैली एक्सपोज गरिएका भिडिओहरू टिकटकमा भाइरल भइरहेका छन् ।
तर, भोलिको आन्दोलनमा यो अभियानको भने कुनै संलग्नता नभएको आदित्यले बताए । आफूहरूको माग तीनवटा भएकाले त्यही मागमा मात्रै केन्द्रित भइने उनको भनाइ छ ।
आन्दोलनमा सक्रिय अर्की सदस्य रक्षा बमले भनिन्, ‘यस आन्दोलनमा सबैखाले विचारधारा बोक्नुभएको मान्छेहरू आउन सक्नुहुन्छ । तर, आएर आन्दोलन बिथोल्न चाहिँ पाउनुहुन्न ।’
तर, आजै मात्रै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू पनि भोलिको आन्दोलनमा सहभागी हुने बताएपछि उनीहरू सशंकित बनेका छन् । प्रतिबन्धित फेसबुकमा स्टाटस लेख्दै प्रसाईंले आफू पनि आन्दोलनमा जाने घोषणा गरेका हुन् ।
तर, प्रसाईंलाई आफूहरूले कुनै निमन्त्रणा नदिइएको बमले बताइन् । यो विशुद्ध जेन जेडको आन्दोलन भएको उनको भनाइ छ । यदि प्रसाईं सहभागी हुन चाहेमा आउन दिने कि नदिने भन्नेबारे आफूहरू छलफलमा रहेको उनले बताइन् ।
भोलि बिहान नौ बजेबाट माइतीघरमा जेन जेड पुस्ता भेला हुँदैछन् । कताबाट जाने, कुन कुन रुट प्रयोग गर्ने विषयमा अहिलेसम्म निर्णय नभइसकेको अभीजितले बताए ।
आन्दोलन भने एकदमै शान्तिपूर्ण हुने उनले बताए । उनले थपे, ‘हाम्रो आन्दोलन नै पुलिसलाई फूल दिएर सुरू हुन्छ । त्यस्तो शान्तिपूर्ण आन्दोलन हिंसात्मक हुने कुरै आउँदैन ।’
यदि कसैले त्यस्तो गतिविधि गर्छ, तोडफोडमा उत्रन्छ भने त्यसको जिम्मा निज व्यक्ति स्वयंले लिनुपर्ने उनले बताए । त्यस्तो लफडाको जिम्मा आफूहरूले नलिने अभिजीतले बताए । रक्षा बमका अनुसार भोलिको कार्यक्रममा कसैले पनि सम्बोधन गर्ने छैनन् । कार्यक्रम विशुद्ध सृजनशील हुनेछ । बाँकी कार्यक्रमको रूपरेखा कस्तो बनाउने भनेर अहिलेसम्म तय नभइसकेको समेत उनले बताइन् । साँझसम्ममा त्यो पनि फाइनल हुने उनको भनाइ छ ।
करिब सन् १९९७ देखि सन् २०१२ सम्ममा जन्मिएको पुस्तालाई जेन जेड वा जेन जी भनिन्छ । विशेष गरेर यो पुस्ताको दृष्टिकोण र जीवनशैलीलाई जेन जेड भनेर भन्ने गरेको पाइन्छ ।
समाजशास्त्रीय दृष्टिकोणले विभिन्न कालखण्डमा जन्मिएका पुस्ता, तीनको जीवनशैली, सोच्ने तरीका र दृष्टिकोणलाई बुझाउनलाई विभिन्न पुस्तामा वर्गीकरण गरिन्छ । त्यही अनुरूप पछिल्लो इन्टरनेट, स्मार्टफोन, युट्युब र विभिन्न सामाजिक सञ्जालहरूसँगै हुर्किएको पुस्तालाई जेन जेड वा जेन जी भनिन्छ ।
यो पुस्ता एआईसँग पनि उत्तिकै नजिक छ । वैश्विक ज्ञान आर्जन गर्नमा चासो राख्ने, उद्यमशीलताप्रति रुचि भएका र एआई टुल्सहरू राम्रोसँग प्रयोग गर्न सक्छन् ।
समाजशास्त्रीहरूले जेन जेड वा जेनजीअघि सन् १९८१ देखि सन् १९९७ सम्ममा जन्मिएकाहरूलाई जेन वाइ भनिदिएका छन् । यो पुस्ता विज्ञान र प्रविधिमा भइरहेको क्रान्ति सँगसँगै हुर्किएको थियो । जेन वाइअघि जेन एक्स भन्ने पुस्ता पनि छ । सन् १०६५ देखि सन् १९८० मा जन्मिएर हुर्किएका पुस्ताको दृष्टिकोण र जीवनशैलीलाई जेन एक्स भनिन्छ ।
सन् २०१३ देखि सन् २०२४ को दशकमा जन्मिएर स्मार्ट फोन, ट्याब्लेट, एआई, इन्टरनेट र युट्युब लगायत प्ल्याटफर्मसँगै खेल्दै हुर्किएका पुस्तालाई जेन अल्फा भनिन्छ । त्यस्तै सन् २०२५ देखि सन् २०३९ सम्म जन्मिएकाहरूको दृष्टिकोण र जीवनशैलीलाई जेन बिटा भनिनेछ ।
विश्वका विभिन्न देशमा यतिबेला २७ वर्षभन्दा कम उमेर समूहका युवापुस्ता अर्थात् जेनेरेसन जेड (जेन जी)ले सामाजिक सञ्जालको प्रयोग गर्दै भ्रष्टाचार, आर्थिक असमानता, अलोकतान्त्रिक शासन र महँगीविरुद्ध आवाज उठाउँदै छन् । सन् २०१८ मा स्विडेनमा जलवायु परिवर्तनको असरका विरुद्ध यो पुस्ताले आन्दोलनको शुरूआत गरेको थियो । त्यसपछि सन् २०२० मा अमेरिकामा काला जातिमाथि भएको दमनविरुद्ध विश्वभर विरोध प्रदर्शन भयो । युवाहरूले आफ्नो आवाजलाई विस्तारै बुलन्द गर्दै लगेका बेला सन् २०२४ जुनबाट केन्यामा भएको आन्दोलनले हिंसात्मक रूप लियो, जसमा ६५ जनाभन्दा बढीले ज्यान गुमाए । तत्पश्चात् युवा पुस्ताको आन्दोलन अहिले विश्वभर फैलिएको छ ।
मंगोलिया र केन्यामा भएको आन्दोलनले तत्काल सफलता पाएका छन् भने सर्बिया, मालीमा उच्च दबाब सिर्जना गरेका छन् । यी आन्दोलनहरूको एक साझा विशेषता भनेको विकेन्द्रीकृत नेतृत्व, रचनात्मक रणनीति र सरकारी दमनका बाबजुद पनि निरन्तरको प्रदर्शन हो । जेन–जी आन्दोलनहरूको शक्ति डिजिटल प्लेटफर्म हो । यसमा स्वस्फूर्त सहभागिता र नैतिक उद्देश्यमा आधारित हुन्छ । तर, जनसमर्थन कमजोर पार्न, आन्दोलनको वैधता प्रश्नमा ल्याउन र सरकारलाई कडा दमन गर्न सहज वातावरण निर्माण गर्न घुसपैठ हुने खतरा अत्यधिक हुन्छ । यस्ता घुसपैठले यी आन्दोलनलाई हिंसात्मक, चरमपन्थी वा अव्यवस्थित देखाउने खतरा बढाउने भएकोले त्यसतर्फ सचेत हुन जरुरी हुन्छ । धेरै आन्दोलनमा देखिएको क्षति यही कारण हो ।
केही चर्चित जेनजी आन्दोलनहरू
केन्या (जुन २०२४ र जुन २०२५) : त्यहाँको सरकारले कर वृद्धि गर्नका निम्ति ल्याएको आर्थिक ऐनविरुद्ध १८ जुन २०२४ मा जेनजी आन्दोलन शुरू भएको थियो । कर वृद्धिलाई फिर्ता र भ्रष्टाचारविरुद्ध जवाफदेहिता माग्दै भएको सामाजिक सञ्जालमार्फत डिजिटल अभियान चलाइएको थियो र जसमा ‘अक्कुपाई पार्लियामेन्ट’को आह्वान गरिएको थियो । २५ जुनमा प्रदर्शनकारीहरूले संसद् भवन प्रवेश गरे र आगजनी गरे, जसको प्रतिक्रियास्वरूप प्रहरी कारबाहीमा ६५ जनाभन्दा बढीको ज्यान गयो । जन दबाबका कारण २८ जुनमा सरकारले विवादित कानुन रद्द गर्न बाध्य भयो । फेरि जनवरी २०२५ देखि ब्लगर अल्बर्ट ओज्वाङको पुलिस हिरासतमा मृत्युपछि आन्दोलन फेरि शुरू भयो । ९ जुन २०२५ देखि शुरू भएको दोस्रो चरणको आन्दोलन पनि हिंसात्मक भयो कयौंले ज्यान गुमाए भने ५ सयभन्दा बढी गिरफ्तार भएका छन्, जसले सरकारमाथि ठूलो दबाब सिर्जना गरेको छ ।
मंगोलिया (मार्च–जुन २०२५) : गत मार्चमा शुरू भएको आन्दोलन प्रधानमन्त्री लुभसान्नामस्रेन ओयुन–एर्दनेको परिवारमा भएको भ्रष्टाचार र अत्यधिक खर्चविरुद्ध केन्द्रित थियो । विद्यार्थी र युवाको नेतृत्वमा सामाजिक सञ्जालमार्फत अभियान चलाइयो र संसद्माथि दबाब बढाइयो । करिब हजारौं मानिसले हस्ताक्षर गरेको गर्दै दबाब दिएपछि, ३ जुन २०२५ मा संसद्ले प्रधानमन्त्रीविरुद्ध अविश्वासको मत पारित ग¥यो, जसका कारण उनले राजीनामा दिए र सरकारमा परिवर्तन भयो ।
सर्बिया (नोभेम्बर २०२४– सेप्टेम्बर २०२५) : २२ नोभेम्बर २०२४ मा भएको एक रेल दुर्घटनापछि राज्यस्तरीय भ्रष्टाचार र जवाफदेहिताको अभावविरुद्ध युवा आन्दोलन शुरू भयो । प्रदर्शनकारीहरूले सामूहिक रूपमा १६ मिनेटको मौन धर्ना, सडक र संस्था अवरोध, साइकल रिलेजस्ता शान्त र रचनात्मक रणनीति अवलम्बन गरे । आन्दोलन एक वर्षसम्म जारी रह्यो ।
इन्डोनेसिया (अगस्त २०२५) ः इन्डोनेसियामा २५ अगस्त २०२५ मा सांसदहरूले पाउने विलासितापूर्ण भत्ता, सुविधाविरुद्ध तथा आर्थिक असमानताविरुद्ध न्यायको माग लिएर आन्दोलन शुरू भयो । यो नेतृत्वविहीन आन्दोलन थियो र युवाहरूको व्यापक समर्थन थियो । प्रदर्शनहरू हिंसात्मक बन्दै देशका ३२ प्रान्तमा फैलियो । जसको नतिजाको रूपमा सरकारले सांसद सुविधा रद्द गर्न बाध्य भयो ।
माली (सन् २०२५ को मध्य) : २०२५ को मध्यतिर सैन्य शासनविरुद्ध लोकतन्त्र पुनःस्थापनाको माग लिएर युवाहरूले डिजिटल अभियान र सडक प्रदर्शनहरू शुरू गरे । तर, सैन्य सरकारले कडा नियन्त्रण कायम राखेकाले आन्दोलनलाई दमन ग¥यो । यद्यपि, यस आन्दोलनले अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षित गर्न सफल भएको छ ।
फ्रान्स (सन् २०२५ को मध्य) : फ्रान्समा आर्थिक असमानता र बढ्दो जीवनयापन खर्चविरुद्ध दबाब सिर्जना गर्ने उद्देश्यले ह्यासट्याग इभ्रिथिङ डिजिटल अभियान शुरू भएको छ, जसको लक्ष्य १० सेप्टेम्बर २०२५ मा ठूलो राष्ट्रव्यापी विरोध प्रदर्शन गर्नु हो । व्यापार संघहरूको समर्थन रहेको यो आन्दोलनले सरकारको ध्यानाकर्षण गराएको छ ।
युक्रेन (जुलाई २०२५) : जुलाई २०२५ मा भ्रष्टाचार नियन्त्रण एजेन्डालाई कमजोर पार्ने सरकारी प्रयासविरुद्ध युवाहरू प्रदर्शनमा उत्रिए । सामाजिक सञ्जालमार्फत समन्वय भएको यो आन्दोलनले सरकारलाई आफ्नो नीतिमा पुनर्विचार गर्न र भ्रष्टाचारविरुद्धको पारदर्शिता बढाउन बाध्य पा¥यो ।।
स्लोभाकिया (डिसेम्बर २०२४– मे २०२५) : स्लोभाकियामा प्रधानमन्त्री रोबर्ट फिकोको रसिया समर्थित र युरोपियन–विरोधी नीतिहरू विरुद्ध डिसेम्बर २०२४ देखि मे २०२५ सम्म ठूलो जनआन्दोलन चल्यो । यद्यपि, सरकारले दबाबलाई नमानेर आफ्नो पदमा कायम रह्यो र आन्दोलनलाई दबाउन सफल भयोे ।
अमेरिका (फेब्रुअरी–अप्रिल २०२५) : ‘५० राज्यमा ५०’ प्रदर्शन नामक आन्दोलन युवा नेतृत्वको अमेरिकामा आन्दोलन शुरू भयो । फेब्रुअरी, मार्च र अप्रिलमा भएका राष्ट्रव्यापी प्रदर्शनहरूमा लाखौं युवाहरूले डोनाल्ड ट्रम्पको नीति, युक्रेनलाई सहयोग र संवैधानिक सुरक्षाको माग गरे । यो अमेरिकाको इतिहासको सबैभन्दा ठूलो एकदिने विरोध आन्दोलनमध्ये एक बन्यो ।
बेलायत (जुलाई २०२५) : जुलाई २०२५ मा आप्रवासन नीतिविरुद्ध दक्षिणपन्थी युवाहरूले प्रदर्शन शुरू गरे । सडक जाम, होटल अवरोध र अनलाइन अभियानहरूमा संलग्न यो आन्दोलन हिंसात्मक बन्दै गयो, जसमा ठूलो प्रहरी दमन भयो यसले समाजमा गम्भीर विभाजन देखायो ।
टर्की (अप्रिल २०२५) : इस्तानबुलका लोकप्रिय मेयर एक्रेम इमामोग्लुलाई जेल सजायको घटनापछि अप्रिल २०२५ मा युवाहरूले ठूलो प्रदर्शन शुरू गरे । लोकतन्त्र र जवाफदेहिताको माग गर्दै शुरू भएको यो आन्दोलनलाई प्रहरीले दमन ग¥यो, २ हजारभन्दा बढी युवा गिरफ्तार भए, तर यसले टुर्कीका युवाहरूलाई राजनीतिक रूपमा सक्रिय बनाउने महत्वपूर्ण भूमिका खेल्यो ।
इरान (मे २०२५) : मे २०२५ मा बढ्दो आर्थिक संकट, बिमा प्रिमियम र इन्धनको मूल्यवृद्धि विरुद्ध देशव्यापी हड्तालहरू भए । चालक, किसान, मजदुरहरू सामेल भएको यस आन्दोलनले १५५ भन्दा बढी सहरलाई प्रभावित गरेर दैनिक जीवनमा ठूलो अवरोध सिर्जना ग¥यो र सामाजिक असन्तुष्टिलाई उजागर ग¥यो ।
बंगलादेश (अप्रिल २०२५ ) : गाजाको समर्थनमा आयोजित ‘मार्च फर गाजा’ले ठूलो भीड परिचालन ग¥यो । यसले विदेश नीतिमा प्रत्यक्ष परिवर्तन नगरे पनि क्षेत्रीय बहसलाई नयाँ आयाम दिएको छ ।
युगान्डा, मलावी, घाना, गाम्बिया (जुलाई २०२४) : अफ्रिकी देशहरू युगान्डा, मलावी, घाना र गाम्बियामा पनि केन्याको आन्दोलनले प्रेरणा दिएर युवा बेरोजगारी, आर्थिक संकट र भ्रष्टाचारविरुद्ध आन्दोलनहरू शुरू भएका छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved