लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालको शवगृहमा पोस्टमार्टमका लागि राखिएको किशोरीको शव अदलबदल प्रकरणमा पाँचसदस्यीय छानबिन समिति गठन भएको छ ।
इलाका प्रशासन कार्यालय लहानका प्रमुख उपसचिव बेदनिधि खनालको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी निरीक्षक सुनील चौरसिया, सिराहा प्रादेशिक अस्पतालका चिकित्सक डा. अरुण मण्डल सदस्य छन् । त्यस्तै, छानबिन समितिमा सदस्यको रूपमा गोलबजार नगरपालिका ३ जमदहका वडाध्यक्ष धनप्रसाद लामा र मृतक किशोरी निशा बानियाकी काका तिलकबहादुर बानियाँसमेत राखिएका छन्।
गोलबजारस्थित इलाका प्रहरी कार्यालयमा सिराहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, जनपद र सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख, मृतक परिवारका प्रतिनिधि, जनप्रतिनिधि र स्थानीय अगुवाहरूको छलफलले छानबिन समिति गठन गरेको हो । छलफलमा प्रजिअले प्रादेशिक अस्पतालका विकास समितिका अध्यक्षलाई छानबिनमा सहयोग गर्न अस्पतालका प्रमुखलाई जिम्मेबारी बहन गर्न नपाउने गरी विदामा रहन र शवगृहको जिम्मेवारीमा रहेका कर्मचारीलाई तत्काल उक्त जिम्मेवारीबाट हटाउने निर्देशन दिएबमोजिम निर्णय गरिएको वडाध्यक्ष लामाले बताए।
उनका अनुसार पीडतपक्षबाट सडक अवरोधलगायत आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई सडक खोल्ने निर्णयबमोजिम मंगलबार मध्यान्ह १२ बजेखि गरिएको चक्काजाम अपरान्ह ४ बजेतिर खोलिएसँगै सवारी आवागमन सुचारु गरिएको छ । १० माघको बिहान जमदहस्थित आफनै घरको कोठामा झुन्डिएर मृत भेटिएकी स्थानीय पूर्णबहादुर बानियाँकी एक्ली छोरी करिब १६ वर्षीया निशा बानियाँको शव पोस्टमार्टमका लागि दिउँसो करिब ३ बजेतिर लहान प्रादेशिक अस्पतालमा ल्याइएको थियो।
मृतककी बाबुआमा भारतमा रोजगारी गरिरहेकाले बाबुआमा फर्किएपछि पोस्टमार्टम गर्ने गरी फर्किएका आफन्त र गाउँलेहरू सोमबार पुनः अस्पतालमा पुग्दा उनको शव नै नभेटिएपछि उनीहरू अस्पताल प्रमुख, कर्मचारीलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै चक्काजामसहित आन्दोलित भएका थिए। भारतको मुम्बईबाट बाबुआमा फर्केपछि पोस्टमार्टम गर्ने गरी आफन्तले अस्पताल प्रशासन र प्रहरीको जिम्मा लगाएर शवगृहमा राखिएको निशाको शव आइतबार नै पोष्टमार्टम गरी सप्तरीको खडक नगरपालिका १ सिसवा बेलही पुर्याएर दाहसंस्कार गरेको सोमबार दिउँसो मात्र खुलेको हो । अस्पताल प्रशासनका अनुसार शवगृहमै राखिएकी सिसवा बेलहीकी करिब १७ वर्षीया राधिकाकुमारी साहका आफन्तले आइतबार निशाको शव राधिकाको भन्दै पोस्टमार्टम गराएर बुझेर लगेका थिए ।
शवगृहमा रहेको शवको पोस्टमार्टम गरिने
शव अदलबदल भएको खुलेपछि इलाका प्रहरी कार्यालय लहानले सप्तरी प्रहरीसँग समन्वय गरी सोमबार अपरान्ह निशाको शव राधिकाको भन्दै बुझेर लिएर गएका नातामा काका पर्ने सतिव साह अझै प्रहरीकै नियन्त्रणमा छन् । साहलाई उनका आफन्तलाई बोलाएर जिम्मा लगाइने र शवगृहमा रहेको राधिकाको शवको कानुनी प्रकृया बमोजिम पोष्टमार्टन गरिने जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार जनाएको छ ।
निशा जमदहस्थित सरस्वती मा.वि.मा कक्षा १० मा पढिरहेकी थिइन् । सरस्वती पूजाको दिन गत शुक्रबार १० वर्षीय भाई निशान्तसहित विद्यालय आएकी उनी विद्यालयमा पूजापछि भाईसँग लहान आएर एक रात बसेको र भोलिपल्ट बिहान करिब १० बजेतिर घर फर्किएको बताइएको छ । भोलिपल्ट शनिबार बिहान करिब १० बजेतिर घर पुगेपछि भारतमा रहेका बाबुसँग भिडियोकलमा कुराकानी गरी भाइलाई मोवाइल थमाएर कपडा फेर्छु भन्दै कोठा छिरेकी निशा लगत्तै झुन्डिएको अवस्थामा भेटिएको स्थानीयले बताए।
त्यसपछि गोलबजारबाट गएको प्रहरीले घटनास्थल प्रकृति मुचुल्कासहित अन्य कानुनी प्रक्रिया पूरा गरेपछि उनको शव दिउँसो करिब ३ बजेतिर नातामा काका पर्ने तिलकबहादुर बानियाँसहित गाउँलेहरूले लहान अस्पताल प्रशासनलाई बुझाएपछि शवगृहमा राखेर फर्किएका थिए। मृतककी बाबुआमा सोमबार बिहान घर फर्किएपछि दिउँसो काका तिलकबहादुरसहित आफन्त र गाउँलेहरु अस्पताल पुग्दा शव नै नभेटेपछि अदलबदल भएको खुलेको हो।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved