अर्नमा गाउँपालिका वडा नं. ३ मा स्थानीय सरकारको पहलमा १५ लाख रुपैयाँको लागतमा धर्मशाला (सामुदायिक भवन) शिलान्यास गरिएको छ। गाउँपालिकाले विकास निर्माणका कामलाई तीव्रता दिँदै आएको अवस्थामा यो परियोजनालाई पनि स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन्।
गाउँपालिका अध्यक्ष अशोक कुमार यादवको नेतृत्वमा पालिकामा एकपछि अर्को विकास निर्माणका काम अगाडि बढिरहेको भन्दै स्थानीयहरूले प्रशंसा गरेका छन्। अन्य स्थानहरूमा विकास निर्माणका योजना सुरु हुनासाथ विभिन्न अवरोध सिर्जना हुने प्रवृत्ति देखिए पनि अर्नमा गाउँपालिकामा भने स्थानीयवासीहरू विकासका काममा सहकार्य र समर्थन गर्दै अघि बढिरहेको उदाहरण प्रस्तुत भएको बताइएको छ।
निर्माण हुन लागेको धर्मशालाले सामाजिक तथा सामुदायिक गतिविधिलाई व्यवस्थित बनाउनुका साथै विभिन्न सामाजिक, सांस्कृतिक तथा पारिवारिक कार्यक्रम सञ्चालन गर्न सहज वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ। गाउँपालिकाका अनुसार समाजमा बेला–बेलामा उत्पन्न हुने असहज परिस्थितिलाई सहज र व्यवस्थापन गर्न मद्दत पुग्ने उद्देश्यले सामुदायिक भवन निर्माण थालिएको हो।
उक्त भवन निर्माण कार्यको शुभारम्भ शुक्रवार विधिवत रूपमा भूमि पूजन गरी गरिएको थियो। भूमि पूजन कार्यक्रममा गाउँपालिका अध्यक्ष अशोक कुमार यादव, उपाध्यक्ष शोभा साह, जनप्रतिनिधिहरू तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।
स्थानीयहरूले पालिकाले बजेटको दुरुपयोग हुन नदिई आवश्यक र जनमुखी योजनामा लगानी गरिरहेको भन्दै गाउँपालिका नेतृत्वलाई धन्यवाद दिएका छन्। उनीहरूले विकास निर्माणका यस्ता कार्यले गाउँपालिकालाई जिल्लाकै उदाहरणीय स्थानीय तहको रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved